गोदावरीमा खेलकुद महोत्सव सम्पन्न

गोदावरीमा खेलकुद महोत्सव सम्पन्न


गोदावरी नगरपालिका १३ वडाव्यापी खेलकुद महोत्सव सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन भएको फुटबल स्पर्धामा सहआयोजक त्रिशूल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ ले हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा रुद्राक्ष क्लब तेस्रो भयो ।

उपाधिविजेता टोलीले २५ हजार, उपविजयीले १५ तथा तेस्रो हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाए । उपाधिविजेता त्रिशूलका नितेश खड्का उत्कृष्ट खेलाडी, आयुशजंग थापा उत्कृष्ट गोलरक्षक तथा सौरभ मल्ल शीर्ष गोलकर्ता भए ।

यसअघि सम्पन्न चेस प्रतियोगितामा मनीष घिमिरे पहिलो, प्रवीण घिमिरे दोस्रो र कल्याण घिमिरे तेस्रो भए । विजेताले ७ हजार, उपविजेताले ५ हजार तथा तेस्रो हुने खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुषतर्फको खुला दौडतर्फ पारस देसार पहिलो, गणेश लोहार दोस्रो तथा समीर देसार तेस्रो भए । महिलातर्फ शुभश्री खड्का पहिलो, आयुष्मा केसी दोस्रो र रिदिमा केसी तेस्रो भए । उपाधिधारीले ७, उपविजेताले ५ तथा तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाए । टेबलटेनिस स्पर्धामा सुशील केसी पहिलो र सञ्जित केसी दोस्रो भए । विजेताले ५ तथा उपविजेताले ३ हजार रुपैयाँ पुरस्कार पाएको मूल आयोजक कमिटी संयोजक कृष्ण खड्काले जानकारी दिए ।

युवा जागरण क्लब, युवा सूचना केन्द्र, त्रिशूल युथ क्लब र राष्ट्रिय पोसाक संरक्षण महाअभियान ललितपुरको संयुक्त आयोजनामा भएको महोत्सवको समापन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य लालकुमारी पुनले पुरस्कार प्रदान गरिन् । वडाध्यक्ष भाष्कर थापाको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन विशिष्ट अतिथि थिए ।