फिना वर्ल्ड कप पौडीमा खेलाडी

फिना वर्ल्ड कप पौडीमा खेलाडी


सिंगापुरमा आयोजना हुने फिना वर्ल्ड कप २०१८ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले बिदाइ गरेका छन् ।

यही नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा खेलाडीतर्फ डुवाना लामा, उपास्ती महर्जन तथा साइद हम्जा शाह, प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा विष्णु खड्का रहेका छन् ।

प्रतियोगितामा डुवाना र उपास्तीले ५० मिटर फ्रिस्टायल र ५० र १०० मिटर बेस्ट स्ट्रोक तथा शाहले ५० मिटर फ्रिस्टायल, ५० र १०० मिटर बेस्ट स्ट्रोक तथा ५० र १०० मिटर बटरफ्लाईमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेलाडीहरूको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

बिदाइ कार्यक्रममा नेपाल पौडी संघका सचिव एवं वरिष्ठ प्रशिक्षक ईश्वर कार्की, पूर्व प्रमुख प्रशिक्षक वाङदेन लामा र प्रमुख प्रशिक्षक शंकर कार्कीको पनि उपस्थिति रहेको थियो । टोलीलाई बिदाइ गर्दै महासचिव श्रेष्ठले उत्कृष्ट सफलता हात पार्न शुभकामना दिए ।

यस प्रतियोगितामा नेपाली खेलाडीले आफ्नो व्यक्तिगत समयमा सुधार गर्ने र आगामी दिनमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३औँ दक्षिण एसियाली खेलकुदमा राम्रो नतिजा प्राप्त गर्न सफल हुने प्रमुख प्रशिक्षक शंकर कार्कीले बताए । नेपाली टोली आइतबार नै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।