अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीहरू सम्मानित

अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीहरू सम्मानित


बज्रबाराही मुँवा थाई क्लब र टीकाभैरव बुदोकैदो शाखाले संयुक्त रूपमा अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीहरूलाई सम्मान गरेको छ । प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले खेलाडीहरूलाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।

तिहार, छठ तथा नेपाल सम्वतको उपलक्ष्यमा आयोजित चियापान तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गर्दै खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुने खेलाडीमा र १९ र २० अगस्टमा थाइल्यान्डमा सम्पन्न दोस्रो थाइल्यान्ड गभर्मेन्ट अथोरिटी क्योकुसिन अन्तर्राष्ट्रिय प्रतियोगितामा खुला तौल समूहमा प्रथम स्थान हात पार्ने विजय सिंह र तेस्रो स्थान हात पार्ने कविराज माली तथा ३५ केजी तौलमा रजत पदक प्राप्त खेलाडी दिपेश सापकोटा रहेका छन् । विजयले इन्डोनेसियामा ६ र ७ अगस्टमा आयोजना भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्योकुसिन प्रतियोगितामा खुला तौलमा बेस्ट फाइटर उपाधिसमेत हात पार्न सफल भएका थिए ।

यस्तै नेपालमा आयोजना भएको तेस्रो केब्याग अन्तर्राष्ट्रिय मुँवाथाई च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने शर्मिला गुरुङ ४५ केजी, गुणराज खचाल ६० केजी, रावल श्रेष्ठ ६५ केजी, सन्देश मानन्धर ७० केजी तथा ५५ केजीमा रजत पदक प्राप्त गर्ने कविन देसार रहेका छन् ।

कार्यक्रममा गोदावरी– १० का अध्यक्ष दर्शनकुमार विष्ट, ११ का वडाध्यक्ष नीलबहादुर श्रेष्ठ, आईकेओ क्योकुसिन ब्रान्च चिफ कान्छालाल वाइवालगायतको उपस्थित रहेको थियो ।