दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड धावक रामसुन्दर कार्कीले पूरा गरेका छन् । करिब २५ किलोमिटर दूरीको दौड कार्कीले २ घन्टा समय लगाएर पूरा गरे ।
कार्कीले २५१औँ सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंग्याएका थिए । सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान पनि गरेको थियो । कार्कीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नगद ५ हजारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए । दौडबाट संकलन हुने रकम कालिकोटको रासकोटमा बन्न लागेको स्मार्ट अस्पतालका लागि सहयोगस्वरूप हस्तान्तरण गर्ने कार्कीले जनाएका छन् ।
कार्कीको दौडलाई रुस्लान एफएमले मुख्य प्रायोजन गरेको छ भने सहप्रायोजकमा गोदावरी नगरपालिका, गणेशमान अस्पताल, अक्सब्रिज कलेज, देउसी भैलो समूह, गोदामचौर, ललितपुर निर्माण व्यवसायी, दरबार स्क्वायर मनिचेन्जर, गोदावरी नगरपालिका– १ का अध्यक्ष हरिहर कार्कीलगायत रहेका छन् ।
यसअघि ०६४ मा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगिसकेको ललितपुरको गोदावारीस्थित गोदामचौरनिवासी कार्कीले जानकारी दिए । कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए ।
प्रतिक्रिया