अमेरिकाको क्यालिफोर्निया जंगलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २३ पुगेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
उद्धारकर्ताहरूले आगलागीबाट प्रभावितहरूको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताइएको छ । राष्ट्रिय मौसम सेवाले यस हप्ताभर नै कडा हावाहुरी आउने र सुक्खा अवस्था रहने अनुमान गरेका छन् ।
बिहीबारबाट शुरु भएको आगलागीका कारण ५२ हजारलाई ठाउँ छोड्न आह्वान, ६ हजार ७ सयभन्दा बढी भवन क्षतिग्रस्त, उद्धारको काम सम्भव हुन सकिरहेको छैन
‘आज, हामीले थप १४ जनाको शव फेला पारेका छौँ, योसँगै मृत्यु हुनेको संख्या २३ पुगेको छ,’ बट काउन्टीका प्रहरी अधिकारी कोरी होनेले बताए ।
आगोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको छ । भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ ।

आगलागी प्रभावित क्षेत्रका झन्डै ५२ हजारलाई ठाउँ छोडेर अन्यन्त्र जान आह्वान गरिएको समाचारमा जनाइएको छ । बिहीबार बिहान सुरु भएको आगलागी प्रचण्ड गर्मी र हावाहुरीका कारण अत्यधिक चाँडो फैलिएको थियो ।
आगलागीका कारण अस्पताल, ग्यास स्टेसन, रेस्टुरेन्टलगायत गरी ६ हजार ७ सयभन्दा बढी भवन क्षतिग्रस्त भएका छन् । आगलागी भएको जंगलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ । समयसमयमा सरकारले आगो निभाएको बताए पनि पूर्ण रूपमा जंगलको आगलागी नियन्त्रण हुन नसक्दा मानिसको मृत्यु भइरहेको छ ।
उद्धारका लागि केही व्यक्तिहरूलाई खटाइएको भए पनि उद्धारको काम सम्भव हुन सकिरहेको छैन । उनीहरूले प्रारम्भिक रूपमा एक अनुसन्धान टोली गठन गरिएको र यसले गरेको प्रारम्भिक अनुसन्धानबाट उनीहरूकै कारण जंगलमा आगलागी भएको र उनीहरूको ज्यान गएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।
प्रतिक्रिया