अन्धविश्वासको यो रूप
साउथ अफ्रिकामा रहने जनजातिसँग सम्बन्धित अनेक अनौठा तथा रोचक कहानी हामीमध्येका धेरैले सुन्दै आएका छौँ । तर, इथियोपियाका कारो नामक जनजातिबीच प्रचलित एक परम्परा सुनेर स्तब्ध नहुने सायदै कोही होलान् । उक्त जनजातिका माहिलाबाट जन्मिने जुम्ल्याहा र दाँत खप्टिएका बालबालिकालाई अलच्छिनको मानिने परम्परा त्यहाँ कायम छ । अलच्छिनको या श्रापित भन्दै त्यस्ता बालबालिकालाई लान्छित तुल्याइने मात्र होइन, हुर्कन नदिई जतिसक्दो चाँडो तिनको हत्या गर्ने गरिन्छ । जस्तोसुकै भए पनि जुनसुकै बाबुआमालाई आफ्नो सन्तानको माया लाग्छ । अझ आफ्नो सन्तानप्रति आमाको माया कति हुन्छ, व्याख्या गरिरहनैपर्दैन । तर, कारो जातिका मुखियाहरूको हृदय कुनै आमाको अलापविलापले पनि पगाल्न सक्दैन । तिनीहरू जुम्ल्याहा र एउटै जराबाट दुईवटा दाँत पलाएका बालबालिकालाई खोजी–खोजी ज्युँदै गोहीको आहारा बनाइदिने गर्छन् । हालै मात्र एक इथियोपियाली एक कारो महिलाको १५ वटा सन्तानलाई भोको गोहीको आहारा बनाइएको समाचार एजेन्सीहरूले प्रकाशमा ल्याएका छन् । डेली मेलले जनाएअनुसार ४५ वर्षीया बुको बालगुडा नामक ती महिलाले परम्पराको नाममा आफ्ना सन्तानलाई गोहीको अहारा नबनाइदिन अनुनयविनय गरिन्, तर उनको आँसुले समाजका कथित ठालुहरूको मन पगाल्न सकेन । एक–एक गरेर उनका सात छोरा तथा आठ छोरी गरी १५ सन्तानलाई जङ्गलमा लगी ज्युँदै गोहीको आहारा तुल्याइयो । कथित अलच्छिनका त्यस्ता बालबालिकालाई गोहीको आहारा नबनाइए गाउँमा दुर्भाग्य छाउने र सबैको मृत्यु हुन सक्ने अन्धविश्वास कारो जनजातिबीच गहिरोसँग रहेको छ ।
ढुङ्गेयोनिमा युवक फसेपछि
महिलाको योनि स्वरूपमा निर्मित विशाल मूर्तिसँग एक अमेरिकी छात्रले छेडखानी गर्दा जर्मन प्रहरीले सास्ती पाएका छन् । जर्मनीस्थित तुविङ्गेन युनिभर्सिटी हातामा रहेको योनि स्वरूपको मूर्तिमा उक्त छात्र अड्किएपछि प्रहरीले हैरानी खेप्नुपरेको हो । भएछ के भने उक्त योनि आकारको मूर्ति हेर्न पुगेकी एउटी युवतीलाई सो योनिभित्रबाट कुनै मानिस बाहिर निस्कँदै गरेको तस्बिर खिच्ने चाहना भएछ । नजिकै रहेको अमेरिकी युवकलाई युवतीले योनिभित्र छिरेर सुतेको अवस्थामा बाहिर निस्कन आग्रह गरिछिन् । युवतीको आग्रहबाट जोसिँदै युवक योनिको मूर्तिभित्र प्रवेश गरी भुइँमा पसारिएर बाहिर निस्कने प्रयत्न गर्न थालेछ । तर दुर्भाग्यले युवक योनिमै अड्किन पुग्यो । न भित्र न बाहिर भई अलपत्र परेपछि प्रहरीलाई खबर गरियो । ढुङ्गेयोनिमा फसेको छात्रलाई बाहिर निकाल्न प्रहरीले पनि पाँचवटा इमर्जेन्सी वाहन र २२ जना फायर ब्रिगेड कर्मचारीको मद्दत लिनुप-यो । फर्नान्डो डी जारा नामक पेरूका कलाकारद्वारा सिर्जित ‘पाई चाकन’ नामक सो योनिमूर्ति सन् २००१ मा उक्त युनिभर्सिटीमा स्थापना गरिएको हो । पेरूको भाषामा पाई चाकनको अर्थ ‘यौन सम्बन्ध राख्नु’ भन्ने हुन्छ । ३० टन भारको सो मूर्तिको मूल्य एक लाख २० हजार युरो आँकलन गरिएको छ ।
प्राण नगएपछि साथै बाँच्ने कसम
प्रेममा माया र घृणाको खेल चल्नु सामान्य कुरा हो । प्रेमी–प्रेमिकाबीच आकाशको तारा खसाउने कुरा मात्र नभई बेला–बेलामा झगडा पनि चलिरहन्छ । प्रेममा हुने माया र झगडाका अनेक कथा हामीले सुन्दै आएका छौँ, जसमध्ये कैयनको झगडापछि प्रेम सम्बन्ध नै वियोगमा रूपान्तरण हुन पुग्छ । तर, एक चिनियाँ जोडीबीचको झगडा र मायाको कथा भने विशेष रोचक छ । चीनको झुआई सहरवासी युवक मेङ र उसकी प्रेमिका मेईले बारम्बारको झगडापछि तीनपटकसम्म संयुक्त आत्महत्याको प्रयास गरे, तर तीनैपटक उनीहरूको प्रयास निरर्थक रह्यो । उनीहरू न त मिलेर बस्न सक्थे न अलग्गिएर रहने स्थितिमै थिए । यसैले उनीहरूले संयुक्त रूपमा मृत्युवरण गर्ने अठोट गरेका थिए । पहिलोपटक उनीहरूले काँचको टुक्राले नाडी चिरेर मर्ने प्रयास गरे, तर उनीहरू बचे । अर्कोपटक कोठामा ग्यास फैलाएर आगो लगाई मर्ने उपाय अवलम्बन गरे, त्यो प्रयास पनि संयोगवश विफल भयो । तेस्रोपटक घरको बाल्कोनीबाट अँगालो मारेर फाल हानी आत्महत्या गर्ने प्रयास गरेका थिए, तर उनीहरू तल्लो फ्ल्याटको रेलिङमा अड्किन पुगे । यसरी पटक–पटकको सुसाइड प्रयास असफल भएपछि मेङ र मेईको जोडीले जीवनभर झगडा नगरी साथै बाँच्ने कसम खाएका छन् ।
माछाको पेटमा पचास लाखको ‘अल्लाह’
एक्वेरियममा पालिएको एउटै फुच्चे माछाको मूल्य पचास लाख भन्ने सुन्दा सायदै कसैले विश्वास गर्लान् । तर, इन्डियाको झाँसीनिवासी राजेन्द्रकुमार नामक व्यक्तिले पचास लाखको अफर आउँदा पनि उक्त माछा बेच्न मानिरहेका छैनन् । आखिर एउटा जाबो माछामा त्यस्तो के छ, जसलाई त्यति ठूलो मूल्य तिर्न कोही तत्पर हुँदा पनि माछाधनी बेच्न तयार छैनन् त ? सुनौला रङको उक्त माछाको पेटमा प्राकृतिक रूपमै रातो रङले उर्दूमा ‘अल्लाह’ लेखिएको छ । रमजानको चाड चलिरहेको बेला उक्त माछालाई हेर्नकै लागि राजेन्द्रकुमारकहाँ मानिसको भीड लाग्ने गरेको छ । फगत यत्ति कारणले सो माछाको भ्यालु बढेको हो । ओस्कार प्रजातिको उक्त माछासँगै एक्वेरियममा राखिएका अन्य चालीस माछा मरे पनि त्योचाहिँ एक्लै बाँचिरहेको छ । उसको निम्ति साथी होस् भनी अन्य माछा एक्वेरियममा राखिदिँदा कुनै पनि नबाँच्ने गरेकोले पनि त्यो माछामा त्यस्तो के शक्ति रहेछ भन्ने जिज्ञासा पैदा भएको छ । धर्मभीरूहरूले त्यसलाई अल्लाहको चमत्कार भन्दै श्रद्धा गर्ने गरेका छन् ।
प्रतिक्रिया