देउसी–भैलोको रकम ज्येष्ठ नागरिकलाई

देउसी–भैलोको रकम ज्येष्ठ नागरिकलाई


तुलसीपुरका महिलाहरूले देउसी–भैलोबाट सङ्कलित ५९ हजार ८ सय ४० रकममध्ये ३० हजार बराबरको सामान आइतबार तुलसीपुरस्थित वृद्धसेवा समिति तथा ज्येष्ठ नागरिक समाजलाई प्रदान गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१२स्थित उक्त समाजमा रहेका पाँच वृद्धवृद्धालाई न्यानो कपडाका साथै कार्यालय व्यवस्थापनका लागि कम्प्युटर उपलब्ध गराइएको देउसी–भैलोको नेतृत्वकर्ता तुलसीपुरमा स्थायी घर भई हाल जापानमा बस्दै आउनुभएकी शोभा खत्रीले जानकारी दिइन् ।

अन्य बाँकी रकम पनि सामाजिक काममा लगाउने जानकारी दिँदै उनले धेरैपछि आफ्नो जन्मभूमिमा कला र संस्कृतिको संरक्षणका लागि देउसी–भैलो खेल्ने अवसर प्राप्त भएकामा खुशी लागेको र सङ्कलित बाँकी रकम सामाजिक काममा लगाउन पाउँदा झनै खुशी भएको बताइन् । सहभागी महिलाले तुलसीपुरका हिम्मती छोरी तथा बुहारी देउसी भैलो समूहको ब्यानरमा देउसी–भैलो खेलेका थिए ।