जाँडरक्सी बन्दपछि भएपछि गाउँ शान्त

जाँडरक्सी बन्दपछि भएपछि गाउँ शान्त


६ महिनाअघि जाँडरक्सी बिक्री तथा सेवन गर्ने जाजरकोटका स्थानीयवासी अहिले उत्पादन र बिक्री गर्न हुँदैन भनेर सन्देश दिँदै हिँडेको देख्दा अनौठो लाग्ने गरेको छ ।

समाजमा जाँडरक्सीका कारण विभिन्न घटना बढ्न थालेपछि नलगाड नगरपालिका–८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मदिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय नारायणबहादुर खत्रीले बताए । गाउँमा लाग्ने सामान्य जात्रा, भेला, बैठकमा समेत मदिराका कारण झगडा हुँदा हप्तैपिच्छे प्रहरी कार्यालयमा धाउने स्थानीयवासी अब छिमेकी गाउँमा मदिरा उत्पादन तथा बिक्रीवितरण गर्न हुँदैन भनी सन्देश दिएको देख्दा जोकोही अचम्म परेको खत्रीको भनाइ छ ।

६ महिनाअघि मदिरा बनाउने महिला अहिले मदिरा बन्द अभियानमा जुट्दा गाउँमा थप शान्ति, सुरक्षा कायम भएको उनको भनाइ छ । गाउँमा लाग्ने जात्रामा सुरक्षा दलले सुरक्षा दिने गरेको नलगाड नगरपालिकाका कार्यपालिका सदस्य नरबहादुर विकले बताए ।

तिहारमा सधैँ झगडा हुने हल्चोरमा यसपटक झगडा नभएको र मदिरा कसैले नखाएको देख्दा अनौठो लागेको बारेकोट गाउँपालिकाबाट हल्चौरमा टीका लगाउन आएकी टीका खत्रीले बताइन् । अब हल्चौरको सिको सबैले सिक्नुपर्ने उनको भनाइ छ ।