यस्तो विवादास्पद निर्णय किन लिए खेलकुदमन्त्रीले ?

यस्तो विवादास्पद निर्णय किन लिए खेलकुदमन्त्रीले ?


श्रीविक्रम भण्डारी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद परिषदको सदस्यका लागि सिफारिस गरेका तीनजना नेकपाका कार्यकर्ता राखेपको सदस्यमा नियुक्त भएका छन् । कात्तिक २५ गते अबेर बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णयअनुसार राखेपका पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिना, राजेश गुरुङ र इन्दिरा निरौलालाई राखेपको सदस्यमा नियुक्त भएका हुन् । मन्त्रालयले सिफारिस गरेका तीनजना सदस्यलाई मन्त्रिपरिषदले राखेपको सदस्यको रूपमा सदर गरे पनि अहिलेसम्म उक्त निर्णय सार्वजनिक भने गरेको छैन ।

हाल नियुक्त गरिएका तीन सदस्यलाई राखेपमा रिक्त रहेको बोर्ड सदस्यमा नियुक्त गरिएको हो । यसअघि राखेपका पूर्वकोषाध्यक्ष सुरेन्द्र हमाल प्रदेश सभाको सदस्यको सिफारिसमा परेपछि उनले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि कोषाध्यक्ष पदमा राखेपका सदस्य शैलेश कर्माचार्यलाई पूर्वमन्त्री राजेन्द्रकुमार केसीले नियुक्त गरेका थिए । त्यस्तै, पूर्वउपाध्यक्ष लामा टेन्डी शेर्पा र सदस्य शकुन्तला नगरकोटीको चारवर्षे कार्यकाल सकिएपछि ती पद पनि रिक्त थिए ।

अहिले राखेपमा नियुक्त भएका तीनैजना सदस्य नेकपाका विशुद्ध कार्यकर्ता हुन् । यसमध्ये राजेश गुरुङको खेलकुदको विकासमा कुनै भूमिका छैन । उनी अहिले पोखरामा पशुपालन व्यवसाय गरेर बसेका छन् । गत वर्ष सम्पन्न संसदीय निर्वाचनमा आफूलाई सहयोग गरेका कारण गुरुङलाई राखेपको सदस्यमा मन्त्री सुनारले सिफारिस गरेको स्रोतले बताएको छ । प्राप्त जानकारीअनुसार तिनै गुरुङले लगाएको गुन तिर्न मन्त्री सुनारले उनको भैँसीगोठको समेत उद्घाटन गरेर राष्ट्रियस्तरमै चर्चामा आएका थिए ।

त्यस्तै, इन्दिरा निरौला भने पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन् । निरौला हाल रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा करारको रूपमा कार्यरत कर्मचारी हुन् । निरौला नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य पनि हुन् । निरौलालाई शकुन्तला नगरकोटीको स्थानमा पदस्थापन गरिएको हो । अर्को महत्वपूर्ण कुरा निरौला माधव नेपाल गुुटकी कार्यकर्ता हुन्, उनलाई ओली गुटका मन्त्रीले कसरी सदस्य बनाए त्यो अहिले ओली गुटका कार्यकर्ताका लागि खुल्दुली र चर्चाको भएको छ ।

त्यस्तै आफूलाई प्रधानमन्त्री केपी ओलीका निकट बताउने पीताम्बर तिम्सिना प्रधानमन्त्री ओलीको पावरको ‘सदुपयोग’ गर्दै मन्त्री सुनारले सिफारिस गरेका व्यक्ति हुन् । तिम्सिना सदस्यमा नियुक्त भएको केही दिनपछि उनलाई लामा टेन्डी शेर्पाको रिक्त स्थान राखेपको उपाध्यक्षमा नियुक्ति गरिने स्रोतको दाबी छ । उपाध्यक्षमा नियुक्ति भएपछि मन्त्री सुनारले तिम्सिनाको काँधमा ‘बन्दुक’ राखेर ‘गोली’ चलाउँछन् कि तिम्सिनाले सुनारको काँधमा राखेर पड्काउँछन्– त्यो प्रतीक्षाको विषय बनेको छ ।

राखेपमा बोर्ड सदस्य रिक्त भएको ६ महिनासम्म मौनता साँधेका मन्त्री सुनारले एकैपटक तीनजना सदस्यको सिफारिस किन गरे त्यो अहिले चर्चाको विषय बनेको छ । दशैँअघिसम्म नयाँ खेलकुद ऐन ल्याएर खेलकुदमा हालिमुहाली गर्ने सोच बनाएका मन्त्रीले एक्कासि आफ्नो सोचमा परिवर्तन गरेर किन अदूरदर्शी निर्णय गर्न बाध्य भए त्यसको पछाडि ठूलो रहस्य छुपेको अनुमान गरिन थालिएको छ । नयाँ खेलकुद ऐन जारी हुनासाथ राखेपको बोर्ड नै खारेज हुन्छ, र नयाँ पदाधिकारीहरूको चयन हुन्छ । यस्तो अवस्थामा मन्त्री सुनारले किन अहिले राखेपको सदस्य नियुक्त गर्नका लागि सिफारिस गरे त्यो आफैँमा प्रश्नचिह्नको घेरामा परेको छ ।

साँचो रूपमा भन्नुपर्दा यतिबेला खेलकुदमन्त्री आठौँ राष्ट्रिय खेलकुद र नेपालमा आयोजना हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) र नयाँ खेलकुद ऐन जारी गर्नेतर्फ केन्द्रित हुनुपर्ने हो । तर, मन्त्री सुनारले यी सबै कुरालाई बाइपास गर्दै किन दुई–तीन महिनामा खारेज हुने राखेपको बोर्डमा सदस्य नियुक्तिलाई बढी महत्व दिए यसमा ठूलै चलखेल भएको खेलकुदमा चर्चा चलेको छ । अन्यथा बिनामौसम मन्त्री सुनारले बेसुरको बाँसुरी कदापि बजाउने थिएनन् ।