तपाईं पहिलोपल्ट इलाम जाँदै हुनुहुन्छ भने मानिसहरूले भन्ने छन्, ‘प्लास्टिकका ब्याग साथमा छन् भने यतै छोडेर जानुस् है, इलाममा प्रयोग गर्न पाइँदैन, जरिवाना तिर्नुपर्छ ।’ चुरोट–बिँडी खानुहुन्छ कि ? अर्को प्रश्नपछि फेरि भनेको सुनिन्छ, सार्वजनिक ठाउँमा चुरोट खाँदै हिँड्नु त इलाममा लाजमर्दो कुरा हो । बजारतिर धुवाँ उडाउँदै चुरोट तान्दै हिँड्ने मान्छेप्रति हेर्ने दृष्टिकोण त फरक हुन्छ नै, उसले जरिवाना पनि तिर्नुपर्छ । दुई वर्षअघि इलामलाई प्लास्टिकमुक्त घोषणा गर्दा यो कुरा लागू होला र ? भन्ने मानसिकता थियो । तर, गरे के हुँदैन र ? भन्ने कुरा इलामेलीले प्रमाणित गरेर छाडे । मुलुकका अन्य स्थानमा जस्तो कुनै कुरा घोषणा गरेर त्यसलाई व्यवहारमा नउतार्ने काम त्यहाँ भएन । प्लास्टिक प्रयोग गर्नेहरूलाई पाँच सयदेखि हजार रुपैयाँसम्म जरिवाना गर्न थालियो । जरिवानामा पैसा त जोडिएको थियो नै, सँगसँगै जोडियो सभ्यताको कुरा । प्लास्टिकको प्रयोग गर्नेहरू असभ्य कहलाइन थाले, बजार क्षेत्र प्लास्टिकमुक्त बन्न लामो समय लागेन । यस्तै सार्वजनिक क्षेत्रमा सुर्तीजन्य कुरा सेवन गर्न नपाइने भनेर सरकारी घोषणाको पूर्ण कार्यान्वयन गर्ने पनि इलाम नगरपालिका बनेको छ । इलाममा सार्वजनिक स्थानमा चुरोट–बिँडी खान पाइँदैन । स्थानीयवासीहरूका अनुसार सहरलाई धुम्रपानरहित बनाउन पनि त्यति गाह्रो भएन । आफ्नो स्थानलाई राम्रो र फरक बनाउँm भन्ने चाहनाका कारण सबैले त्यसको पालना गरे । इलाममा आइतबार र बिहीबार गरी हप्ताको दुई दिन हाट (बजार) लाग्छ । बजार भर्न गाउँगाउँबाट मानिस आउँछन् । बजारमा धुम्रपानको सेवनमा गाउँका मानिसलाई प्रतिबन्ध लगाउनु चुनौतीपूर्ण थियो । तर, सर्वसाधारण, सङ्घसंस्था, क्लब, मिडिया सबैले आ–आफ्नो ठाउँबाट जानकारी दिएपछि त्यो चुनौती पनि सहजै ट-यो । अहिले जहाँसुकैका मानिस हुन् इलाम टेकेपछि सार्वजनिक स्थानमा धुम्रपान गर्दैनन् । आ–आफ्नो कोठामा निजी जीवन कसले के खाएर या के गरेर बिताउँछ त्यो सरोकारको विषय भएन ।
आन्तरिक या बाह्य कुनै पर्यटकले थाहा नपाएर धुम्रपान गरिहालेमा सर्वसाधारण जसले देख्यो उसैले इलामको नियमका बारेमा जानकारी दिन्छन् । एकपटक थाहा पाएपछि दोस्रोपटक त्यस्तो गल्ती कसैले गर्दैन । आफूले अन्जानमा चुरोट तान्दै गर्दा एक युवकले दाइ हामीकहाँ यो चुरोटको ठुटो फाल्ने ठाउँ छैन र इलामवासी चुरोटको धुवाँ सहन सक्दैनन् भनेपछि आफूले ग्लानि महसुस गरेको कुरा एक आन्तरिक पर्यटकले यस पङ्क्तिकारलाई बताएका थिए । अलैंची, अदुवा, आलु, अकबरे खुर्सानी, अम्लिसो, अतिथि सत्कारलगायत धेरैवटा ‘अ’मा कहलिएको इलाम यति सफा छ कि बाटामा हिँड्दै गर्दा आफू कतै युरोपतिरै छु कि झैँ महसुस हुन्छ । यो सब स्थानीयवासीको मानसिकताका कारण सम्भव भएको हो । नगरपालिकाको पहललाई यदि स्थानीयवासीले साथ नदिएका भए अन्य धेरै नगरपालिका झैँ इलाम पनि अहिले फोहोरका डङ्गुरले भरिएको सहर नै रहने थियो । तर, इलाममा आ–आफ्नो घरअगाडि कसले बढी सफा राख्ने भन्ने प्रतिस्पर्धाझैँ हुन्छ । बजारमा मात्र होइन गाउँतिर पनि विस्तारै–विस्तारै यसप्रकारको प्रतिस्पर्धा बढ्दै छ । बजारमा जताततै पशुबध नगरियोस् भनेर बधशालाको निर्माण भई कार्यान्वयनको प्रक्रियामा छ । आदर्श कृषि बजारको अवधारणाले कृषकका उत्पादनलाई एकै ठाउँमा भाउ प्राप्त गर्ने बनाइरहेको छ । यस्तै, हरितनगर अभियानले हरियो इलामलाई थप हरियालीपूर्ण बनाउन मद्दत गरेको छ । बाहिर निस्कियो चिया बगान र अम्लिसोको हरियाली, घरवरिपरि फूल र तरकारीको हरियाली, घरवरिपरि सफा वातावरण दु:खसुख त जीवनमा सबैका आ–आफ्नै होलान् तर सुग्घरसफाको हिसाबले इलामवासी सभ्यतापूर्ण जीवन बाँचिरहेका छन् । नगर सभ्यता के हो भनेर सिकाउनका लागि विभिन्न स्थानबाट अध्ययन भ्रमण नै गराउनुपर्ने गरी इलामले आफूलाई बनाएको छ, इलामवासीले आफूलाई चिनाएका छन् । खानेपानीको समस्या हुँदाहुँदै पनि ‘मिनिरल वाटर’को उत्पादन पनि छ । पानी किनेर खाने पर्यटकहरूलाई सकेसम्म स्थानीय मिनिरल वाटर नै किन्नका लागि सुझाब दिइन्छ । अरू ठाउँमा भए अर्काको उत्पादन बिक्रीमा के मतलब भनेर वास्ता गरिँदैनथ्यो या राम्रो छैन पनि भनिन्थ्यो होला, तर आफ्नो ठाउँ र त्यहाँका उत्पादनसँग स्थानीयवासीको गहिरो सरोकार छ । जसका कारण यो सानो सहर सहरजस्तै बन्न सकेको छ ।
काठमाडौं, जनकपुरलगायत अन्य धेरै सहर र सहरवासीले इलामबाट सिक्नुपर्ने कुरा धेरै छन् । तराईका सदरमुकाममा प्राय: आफ्नै घरअगाडि नाली बगिरहेको हुन्छ, तर उक्त घरका मानिसहरू वास्तै गर्दैनन् । कसैले यस्तो फोहोरमा बस्नुभन्दा त आफैँ सफा गर्नुभए हुन्थ्यो नि भन्यो भने उनीहरूको जवाफ हुन्छ, अनि नगरपालिकाको चाहिँ के काम त ? सबै कुरा सरकारले गरिदिओस् भन्ने चाहना सहरवासीमा पाइन्छ । नागरिक हुनुको कर्तव्यका बारेमा हामीलाई खासै सरोकार छैन, अधिकारको बारेमा आवाज उठाउन हामी सबैले जानेका छौँ । तर, इलामेलीहरू नागरिक हुनुको कर्तव्य आफैँ निभाउँछन् । आफ्नो ठाउँ बनाउने अभिभारा आफैँमाथि रहेको आत्मबोध गर्छन् । सडकमा थुक्ने मानिस इलामेलीका लागि असभ्य हुन्, उनीहरू आफू थुक्दैनन् र अरूलाई पनि थुक्न दिँदैनन् । तर, राजधानी या अन्य धेरै स्थानमा रहेका नगरपालिकावासीहरूलाई सार्वजनिक स्थानमा थुक्नु या फोहोर पार्नु कुनै अनौठो काम होइन । धेरै नगरवासीहरू नरकवासीझैँ भइरहेका बेला इलामेलीले गरे यो देशमा जे पनि हुन्छ भन्ने प्रमाणित गरिदिएका छन् । आफ्नो नगर सफा गर्नका लागि उनीहरूलाई स्थानीय सरकार चाहिएन । स्थानीय जनप्रतिनिधिहरू पनि चाहिएनन्, स्थानीयवासी एकजुट भएर गर्दा सबै कुरा राम्रो भयो । सभ्यता भन्ने कुरा मानिसको प्रवृत्तिसँग जोडिएको हुँदोरहेछ । कति नगरहरूमा अहिले पैसा छ, विकासका पूर्वाधारहरू पनि छन् तर बजारका कुनाकाप्चाको त के कुरा घरैवरिपरि झिँगा भन्किरहँदा पनि मानिसहरू सफा नगरी बस्छन् । आफ्नो बासस्थानवरिपरि सफा राख्नुपर्छ भन्ने कुराको महसुस नगर्नेले टोल सफा राख्नुपर्छ भन्ने कुरा सोच्ने कुरै भएन, नगरको कुरा त झन टाढा हुने नै भयो । जबसम्म मानिसमा आफ्नो ठाउँ आफैँ बनाउनुपर्छ भन्ने चेतना आउँदैन तबसम्म विकास पनि टाढै रहने रहेछ । नत्र त इलामको तुलनामा जनकपुर नगरपालिकामा वर्षेनी कैयौँ गुणा बढी बजेट जान्छ । नागरिक तहबाट यसप्रकारको चेतना कसरी ल्याउने ? आफ्नो मुलुक सफा, सभ्य र सुसंस्कृत देख्न एवम् बनाउन चाहनेहरूका लागि यो ठूलो चुनौतीको विषय हो ।
प्रतिक्रिया