पुत्रचिन्ताले पूर्वराजा नागार्जुनतिर

पुत्रचिन्ताले पूर्वराजा नागार्जुनतिर


king_Gyanendraपारसलाई प्रवेश निषेध– बबिता बस्नेत
आफ्नो छोराले राष्ट्र र परिवारको असैह्य बेइज्जती गरेपछि पूर्वराजा ज्ञानेन्द्र निर्मलनिवास छोडी एकान्तबासका लागि नागार्जुन प्रस्थान गर्नुभएको छ । सुधारका लागि अनेकौँ प्रयास गर्दा पनि पूर्वयुवराज पारसमा कुनै परिवर्तन नआएपछि एक बाबुका रूपमा उहाँ ज्यादै दु:खी हुनुभएको बुझिएको छ । निकटवर्तीहरूका अनुसार स्वदेश र विदेश दुवै स्थानमा रहँदा आफूले गरेका सबै प्रयास असफल भएका कारण पूर्वराजा जीवनकालमै सबैभन्दा दु:खी हुनुभएको हो । स्रोतका अनुसार नारायणहिटी परित्याग गर्नुपर्दा पनि उहाँ यति धेरै चिन्तित बन्नुभएको थिएन । पूर्वराजाको यही चिन्ताका बीच लामो बसाइपछि पूर्वयुवराज पारस स्वदेश फर्कने करिब निश्चित भएको छ । उपचारका लागि सुधारगृहको बसाइबाट फर्किएपछि पुन: पुरानै आदतमा नफर्कनुभएको भए उहाँले चाहेजति समय थाइल्यान्डमै बस्न पाउनुहुने थियो । तर, आफ्नै आनीबानीका कारण थाई सरकारले उहाँलाई भिसा थप गर्ने सम्भावना न्यून भएको स्रोतहरूले बताएका छन् । यही साउन २१ गतेदेखि पारसको भीसा अवधि सकिँदै छ ।
प्राप्त जानकारीअनुसार पूर्वराजदम्पती आगामी केही महिनाका लागि नागार्जुन दरबारमा बस्नुहुने भएको छ । त्यस अवधिमा बाह्य मानिसलाई निर्मलनिवासमा प्रवेश निषेध गरिएको छ । उक्त समयमा पारस आएमा उहाँलाई पनि अन्य मानिससरह नै व्यवहार हुनेछ । उहाँले पनि निर्मलनिवासमा प्रवेश पाउने सम्भावना नरहेको बुझिएको छ । जसको बारेमा पूर्वयुवराजलाई जानकारी गराइसकिएको बताइन्छ । नागार्जुन दरबारमा त प्रवेश निषेध हुने नै छ, निर्मलनिवासमा समेत प्रवेश नपाउने अवस्था रहेपछि कुनै बेला यो मुलुकका युवराजधिराजले अब बास खोज्दै हिँड्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । यस्तो स्थिति आउनुमा एक मात्र कारण उहाँ आफैँ बन्नुभएको छ । आफू, पत्नी, छोराछोरी, बाबुआमा, कुल, देश सबै बिर्सिएर बाटो बिराएपछि यस्तो अवस्थाको सिर्जना भएको हो ।
नेपालमा रहँदा र बाहिरै पनि समयसमयमा अनेक काण्डमा फसिरहने पूर्वयुवराज पारस डेढ वर्षअघि बैंककमा गम्भीर रूपले बिरामी परेपछि उहाँप्रति सहानुभूति र सद्भावना दर्शाउनेहरूको सङ्ख्या बढेको थियो । अस्पतालको उपचारपछि सीधै सुधारगृहमा पु-याइएका उहाँ त्यहाँबाट फर्किएपछि पूर्ण स्वस्थ नागरिकका रूपमा स्वदेश फर्कने अपेक्षा गरिएको थियो । तर, फेरि पनि गाँजासहित थाई प्रहरीले पक्राउ गरेपछि उहाँले आफू र आफ्नो परिवारको मात्र नभएर मुलुककै इज्जत राख्न नसकेको महसुस गरिएको छ । पूर्वयुवराजका नकारात्मक क्रियाकलापसँगै देशको नाम जोडिएकाले पूर्वराजा थप दु:खी हुनुभएको स्रोतले बताएको छ । आफ्नो सत्ताभन्दा मुलुक र मुलुकको छविलाई महत्व दिने राजाका लागि आफ्नै परिवारमा पटकपटक दोहोरिएको यो घटनाले मृत्युसरहको पीडा दिएको तथा यस कुराको सजाय व्यक्ति स्वयम्ले भोग्नुपर्ने धारणा पूर्वराजाको भएको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार पूर्वयुवराज सुधारगृहमा रहँदा पहिल्यैदेखि चर्चामा रहेकी उहाँकी थाई केटीसाथीचाहिँ बाहिरै थिइन् । दुवै हातका पाखुराभरि सुइले घोचेर डाम देखिने उनको कुलत छुटेको थिएन । सुरुसुरुमा तिनलाई पनि कुलतबाट छुटाउने कोसिस गरेका पारस पुन: आफँै कुलतमा फस्न पुग्नुभएको थियो । नेपाल फर्कनुपर्ने अवस्था आएपछि प्रेमिकालाई समेत साथै ल्याउने कुरा गरेकोले राजपरिवार थप मर्माहत बन्न पुगेको बताइन्छ । थाइल्यान्डमा रहने नेपालीलाई तिनले आफू पारसको पे्रमिका नभएर सहयोगी रहेको बताउँदै आएकी छिन् । ती महिलासहित वा एक्लै आए पनि अब पारसको बसाइ साथीहरूसँग हुन सक्ने अनुमान गरिएको छ । बहिनीहरू (धीरेन्द्र शाहका छोरीहरू तथा आफ्नी बहिनी)सँग निकट रहे पनि सबै दिदी–बहिनीले भाउजू हिमानीलाई निकै महत्व दिने हुनाले उनीहरूसँग बस्न सक्ने सम्भावना न्यून देखिएको छ । नेपालमा पूर्वयुवराजका रूपमा उहाँले प्राप्त गर्दै आएको सुरक्षा पनि यसअघि नै खोसिइसकेको छ । पूर्वराजा, रानी तथा युवराज्ञीलाई भने सशस्त्र प्रहरी बलले सुरक्षा दिँदै आएको छ । केही वर्षअघि चितवनमा सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीसँगको काण्डपछि तत्कालीन माधव नेपाल सरकारले सुरक्षा सुविधा खोसिदिएको थियो । बैंककमा रहेर पटकपटक प्रहरी फन्दामा पर्दा पारस एउटा व्यक्ति नभएर नेपालको पूर्वयुवराज भनी उहाँभन्दा अगाडि मुलुकको नाम आउने गरेकोमा पूर्वराजा ज्ञानेन्द्र देशको समेत बद्नामी भएकोमा थप दु:खी बन्ने गर्नुभएको थियो । जटिल राजनीतिक उतारचढावका बीच आफ्नो स्थान सुनिश्चित गर्न प्रयासरत पूर्वराजा ज्ञानेन्द्र पुत्र पारसको व्यवहारले खिन्न हुनुभएको र निर्मलनिवास छोडी मन बहलाउन नागार्जुन जाने निर्णयमा पुग्नुभएको बताइन्छ । नेपाल फर्किएपछि पारसले जबर्जस्ती निर्मलनिवास प्रवेश गर्न खोजेमा त्यहाँ खटिएका सुरक्षाकर्मीले के गर्ने हुन् प्रतीक्षाको विषय बनेको छ ।
हृदयेन्द्रको जन्मदिनमा गणेशस्थानमा पूजा
पूर्वनवयुवराज हृदयेन्द्रको जन्मोत्सवका उपलक्ष्यमा द्वीप प्रज्वलनसहित दीर्घायु र सुस्वास्थ्य कामना गरिने भएको छ । साउन १४ गतेदेखि तेह्रौँ वर्षमा प्रवेश गर्न लाग्नुभएका हृदयेन्द्रको जन्मदिनका अवसरमा कमलादीस्थित गणेशस्थानमा द्वीप प्रज्वलनसहित पूजाअर्चना गर्न लागिएको छ । उक्त कार्य श्रीमती भेषराज्यलक्ष्मी सिंह, ज्योत्सना राज्यलक्ष्मी थापा र सीता बाई रोकाको विशेष अग्रसरतामा हुन लागेको समाजसेवी एवम् राजभक्त राधेश्याम थापाले जनाएका छन् ।