पुस्तकालय भवन शिलान्यास गर्दै गोकर्णले भने, ‘गुरुले देखाएको मार्गमा हिँडेको छु

पुस्तकालय भवन शिलान्यास गर्दै गोकर्णले भने, ‘गुरुले देखाएको मार्गमा हिँडेको छु


रमेश विश्वकर्मा, गुल्मी

गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भवन निर्माण हुने भएको छ । यसै वर्षदेखि निर्माण हुने उक्त पुस्तकालय भवनको केही दिनअघि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शिलान्यास गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले आजभन्दा ५० वर्ष पहिले नै पुस्तकालय निर्माणको सोच आउनु आफैमा अमूल्य सोच भन्दै आफुले अध्ययन गरेको महेन्द्र माध्यमिक विद्यालय अनि किरण पुस्तकालयमा पत्रिका तथा अध्ययन सामग्रीहरु अध्ययनका लागि पुग्नेगरेकोे आफ्नो बाल्यकाल सम्झिए ।

किरण पुस्तकालयले सतमार्गमा हिँड्न बाल्यकालदेखि नै आफुलाई प्रेरित गरेको उनले बताए । मन्त्री विष्टले बाल्यकालका गुरु शशी पन्थीको पटक पटक नाम लिँदै उहाँले देखाएको बाटोमा हिँडिरहेको जिकी गरे ।

किरण पुस्तकालयलाई आजको अवस्थासम्म ल्याउन योगदान गर्ने सबैप्रति मन्त्री बिष्टले सम्मान र धन्यवाद व्यक्त गरे । उनले पुस्तकालयले ४५ वर्षभन्दा लामो अवधिदेखि हाम्रो पुरुषार्थ निरन्तर प्रकाशित गरेर समग्र नेपाली समाजमा ज्ञानको ज्योति फैलाउने सकारात्मक सोचका साथ समाजलाई बाटो देखाउने काममा भूमिका निर्वाह गरेको बताए ।

यस्तै, आफ्ना साथी अमन मास्केले महिनौँ लगाएर पुस्तकालय भवनको डिजाइन निःशुल्क गरिदिएकोमा उनीप्रति पनि सम्मान र धन्यवाद प्रकट गरे भने पाको उमेरसम्म आइपुग्दा पनि पुस्तकालयको संरक्षणका लागि अध्यक्षता ग्रहण गरेर महत्वपूर्ण भूमिका खेलेको भन्दै पुस्तकालयका अध्यक्ष नरप्रसाद श्रेष्ठको प्रशंसा गरे ।

आफु पुस्तकालय भवनको शिलान्यासको जिम्मेवारी पूरा गर्नको लागि मात्रै आएको नभई निर्माण कार्यलाई सम्पन्न समेत गर्ने जिम्मेवारी आफुले लिएको प्रतिबद्धता उनले जनाए ।

कार्यक्रमकै बीच बिष्टले मदन भण्डारी राजमार्गलाई गुल्मी हुँदै पूर्वी नेपालको इलामबाट सुदूरपश्चिम तथा भारतसम्म जोड्न ७० देखि ८० अर्बको लागत लाग्ने १२६० किलोमिटर लामो सडक निर्माणको योजना ल्याएको र त्यसका लागि यसै वर्ष ५ अर्ब बजेट विनियोजन भइसकेको जानकारी दिए । उनले गुल्मीको पहिचान रुरु रेसुङ्गाको विकासका लागि महत्वपूर्ण योजना ल्याउने बताए । गुल्मी जिल्लामा पनि सुविधासम्पन्न अस्पतालको खाँचो भएका कारण बजेट निकासाको प्रक्रिया मिलाउने उनले बताए ।

उनले सदरमुकाममा समेत सभा अर्थात कुनै पनि कार्यक्रम गर्नको लागि त्यस्तो ठुलो सभाहल नभएको हुनाले यहाँ कार्यक्रम गर्न अलि असहज भएको हुँदा एउटा ठुलो सभा भवनको समेत निर्माण गर्नको लागि आफुले पहल गर्ने बताए ।

पहाडी जिल्लामा २/४ वटा ठाउँमा मात्र योजना समावेश गर्दा पनि यस पटक सदन बस्ती विकास कार्यक्रमअन्तर्गत जिल्लाको मुसिकोट नगरपालिका र रेसुङ्गा नगरपालिका समेत समावेश गरेको मन्त्री विष्टले बताए ।