राष्ट्रिय पुरुष क्लब लिग भलिबल पोखरामा

राष्ट्रिय पुरुष क्लब लिग भलिबल पोखरामा


नेपाल भलिबल सङ्घको आयोजनामा यही पुुस १ देखि ७ गतेसम्म पोखरामा ‘राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता’ हुने भएको छ । सङ्घले पहिलोपटक उपत्यकाबाहिर आयोजना गर्न लागेको प्रतियोगितामा ८ वटा क्लबको सहभागिता रहनेछ । यसअघि गत वर्षको फागुनमा भएको राष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागिता जनाएका १२ टिममध्ये शीर्ष ८ मा पर्न सफल टिमले लिगमा सहभागिता जनाउन पाउनेछन् । सङ्घले यो प्रतियोगिता गत जेठमै आयोजना गर्ने जानकारी गराए पनि उक्त समयमा एसियाडको बन्द प्रशिक्षणका कारण स्थगित भएको थियो ।

कात्तिक २५ गते आइतबार पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठ, महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताबारे जानकारी गराएका थिए । सो अवसरमा राष्ट्रिय वाणिज्य बैंकका डीजीएम टेकराज जोशी, मार्केटिङ प्रमुख सुनिता मानन्धर र नेपाल भलिबल सङ्घका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सङ्घले वार्षिक कार्यक्रममध्ये क्लब लिगलाई पहिलोपटक उपत्यकाबाहिर गर्न लागेको हो । प्रतियोगितामा हरेक टिमले तीनजना विदेशी खेलाडीलाई खेलाउन पाउने नियम बनाएको छ । प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै, चौथो हुनेले २५ हजार रुपैयाँ हात पार्नेछ ।

प्रतियोगिता सम्पन्न गर्न कुल २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमा पुरस्कारका लागि मात्रै ४ लाख ३० हजार छुट्याइएको छ । प्रतियोगितामा सहभागिता जनाउने टिममा नयाँ बजार सामाजिक युग क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन क्लब रहेका छन् ।