कीर्तिमानी तेक्वान्दो खेलाडी विधान लामा सम्मानित

कीर्तिमानी तेक्वान्दो खेलाडी विधान लामा सम्मानित


सन १९८८ को २४औँ सिउल ओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पहिलोपटक ओलम्पिक पदक दिलाएका चर्चित तेक्वान्दो खेलाडी विधान लामा सम्मानित भएका छन् । लामालाई राष्ट्रिय तेक्वान्दो संघ नेपालले आफ्नै केन्द्रीय कार्यालय सानोभ¥याङमा आयोजित कार्यक्रममा सम्मानित गरेको हो ।

लामालाई तेक्वान्दो खेलमार्फत नेपालको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाएको र नेपाललाई ओलम्पिक र एसियाली खेलकुद प्रतियोगितामा पदक दिलाएका कारण राष्ट्रिय तेक्वान्दो संघले सम्मान गरेको हो । लामालाई संघका अध्यक्ष तथा नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ज्वालाले सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका थिए । लामा एसियाली र ओलम्पिक खेलमा तेक्वान्दोमा अन्तर्राष्ट्रिय पदक जित्ने पहिलो कीर्तिमानी नेपाली खेलाडी हुन् ।

उक्त सम्मान कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघका वरिष्ट उपाध्यक्ष एकनाथ थापा, उपाध्यक्ष तथा तेक्वान्दो पूर्व मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङ, महासचिव राजकुमार कार्की, सचिव राकेश श्रेष्ठ, राखेप कानुनी शाखाका अधिकृत नारायणराज अर्याल र तेक्वान्दो प्रशिक्षक र खेलाडीको उपस्थिति रहेको थियो ।

सो अवसरमा उपाध्यक्ष थापाले लामाले तेक्वान्दो खेलमा पु¥याएको योगदानको चर्चा गरेका थिए । त्यस्तै संघका अध्यक्ष ज्वालाले तेक्वान्दो खेलको सर्वाधिक सफल खेलाडी विधान लामालाई सम्मान गर्न पाउँदा खुसी प्रकट गरेका थिए । देशकाल र परिस्थितिले वर्तमान अवस्थामा तेक्वान्दोले सोचेको जस्तो सफलता हासिल गर्न नसकेको कुरामा प्रकाश पार्दै केहि महिनापश्चात् नै तेक्वान्दो आफ्नो लिकमा आउने विश्वास प्रकट गरेका थिए । आफू तेक्वान्दोमा विवाद होइन विकास गर्न आएको भन्दै तेक्वान्दो समग्र विकासको लागि आफूले जस्तोसुकै त्याग गर्न सक्ने बताए ।

त्यस्तै सम्मानित खेलाडी लामाले तेक्वान्दो फुटेको होइन जुटेको आफूले देख्न चाहेको बताए । लामाले दुवै संघ मिलेर अगाडि बढे नेपालले पहिलोको भन्दा पनि राम्रो नतिजा ल्याउन सक्ने बताए । साथै राष्ट्रिय तेक्वान्दो संघले सम्मान गरेकोमा धन्यवाद दिँदै आभार प्रकट गरेका थिए ।