राष्ट्रिय च्याम्पियन थापा (भोटु) सम्मानित

राष्ट्रिय च्याम्पियन थापा (भोटु) सम्मानित


सन् २०१८ को अक्टुबर ११ मा मकाउमा सञ्चालन भएको पाँचौँ डान ग्रेडिङमा सफलता प्राप्त प्रशिक्षकहरूलाई राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरेको छ । कात्तिक २६ गते सोमबार सङ्घको कार्यालय सानो भऱ्याङमा आयोजित कार्यक्रममा प्रशिक्षकद्वय खड्गबहादुर थापा (भोटु) र कृष्णशरण कार्की (काले) लाई सङ्घका अध्यक्ष तथा नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइराला (ज्वाला)ले प्रमाणपत्र र सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

सम्मानित तथा पाँचौँ डान प्राप्त खड्गबहादुर थापाले २०५० सालदेखि तेक्वान्दो खेल्न शुरु गरेका थिए । उनलाई ग्य्रान्ड मास्टर ध्रुवबहादुर गुरुङले प्रशिक्षण दिएका थिए । निकै अनुशासित र मिहिनेती खेलाडीको रूपमा परिचित थापाले तत्कालीन समयमा फेदरवेट समूहमा तेक्वान्दोमा एकछत्र राज गरेका थिए । थापा आफ्नो तौल समूहमा राष्ट्रियस्तरमा च्याम्पियन बन्दै तेक्वान्दोको उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए ।

राष्ट्रिय च्याम्पियन बनेपछि तेक्वान्दो सर्वपक्षीय विकासको लागि होमिएका थापा नितेक निकेतनमा फाउन्डर भएर तेक्वान्दो खेलको विकास र विस्तारमा लागेका थिए । उनी उक्त संस्थाबाट थुप्रै ब्ल्याकबेल्ट र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सफल भएका थिए । यहाँ पाएको सफलतापश्चात् थापाले बौद्ध तेक्वान्दो डोजाङमा सहायक प्रशिक्षकको भूमिका निभाउने अवसर पाएका थिए । बौद्ध डोजाङमा आफूले पाएको अवसरलाई सदुपयोग गर्दै थापाले त्यहाँबाट पनि तेक्वान्दोका उत्कृष्ट खेलाडी उत्पादन गरेका थिए । सो अवसरमा उनले बौद्धका प्रायजसो सबै विद्यालयमा तेक्वान्दोको प्रशिक्षण गराएर तेक्वान्दोको विकासमा अहम् भूमिका निभएका थिए । यो कार्यमा थापाले तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङको साथ पाएका थिए । गुरुङकै मार्ग–निर्देशनमा थापाले तेक्वान्दोलाई विद्यालय विद्यालयमा पु¥याउन सफल भएका थिए । त्यतिबेला थापाले गरेको यो कार्य निकै प्रशंसनीय बनेको थियो ।

तेक्वान्दो विकासमा अहोरात्र खटेर लाग्दा पनि खेलाडी भएर बाँच्न गाह्रो भएपछि थापा विदेश भासिएका थिए । विदेश भासिए पनि थापाको तेक्वान्दोको प्रशिक्षण जारी राखेका थिए । गत महिना राष्ट्रिय तेक्वान्दो सङ्घले मकाउमा गरेको सेमिनार तथा ग्रेडिङ कार्यक्रममा थापाले पनि सहभागिता जनाएका थिए । उक्त ग्रेडिङमा सफल भएका थापालाई सङ्घले कात्तिक २६ गते प्रमाणपत्र प्रदान गर्नुको साथै सम्मान गरेको हो । सम्मानपछि थापाले खुसी व्यक्त गर्दै सङ्घलाई धन्यवाद ज्ञापन गरेका छन् । यो सम्मानले आफूलाई तेक्वान्दोमा सधैँ क्रियाशील रहन प्रोत्साहन गरेका बताए ।