मोदीको व्यग्रतापूर्ण प्रतीक्षा

मोदीको व्यग्रतापूर्ण प्रतीक्षा


Modi, prime ministerial candidate for the BJP, gestures upon his arrival to meet party leaders and workers at Gandhinagarनेपालको तयारी पक्ष कमजोर भएकोप्रति चिन्ता
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणपछि नेपालमा भारतविरुद्धको स्वर मत्थर भएको छ । स्वराजले नेपालको राजनीतिक स्थायित्व र विकासमा भारत हरतरहले सहयोग गर्न तत्पर रहेको बताउँदै नेपालले प्रयोग गरेर बाँकी रहेको बिजुली मात्र भारत खरिद गर्ने पक्षमा रहेको भनी दिनुभएको अभिव्यक्तिलाई यहाँ सकारात्मक रूपमा लिइएको छ । त्यस्तै ऊर्जा विकाससम्बन्धी सम्झौता नेपालले चाहेबमोजिम नेपालले नै चाहेको समयमा हुने बताएर स्वराजले आमनेपालीको मन जित्नुभएको छ । सम्झौताका निम्ति भारत नहतारिएको स्पष्ट बोध भएपछि ऊर्जासम्बन्धी सम्झौतालाई लिएर बाधा–विरोध पैदा गर्न तयार रहेको पक्ष पनि रक्षात्मक बनेको छ । स्वराजको भ्रमणले भारत नेपालसँग मित्रवत् एवम् विश्वास र भरोसापूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको सन्देश दिएको छ । यसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी आइतबार (साउन १८ गते) हुने भ्रमणलाई थप सौहार्दपूर्ण बनाउने विश्वास गरिएको छ । प्रधानमन्त्री मोदीको भ्रमणलाई सद्भाव भ्रमणको रूपमा लिइए पनि अन्तत: यो राजकीयस्तरको बन्न पुगेको छ । मन्त्री स्वराजको भ्रमणका क्रममा नेपाललाई बिझाउने कुनै कुरा नभएपछि प्रधानमन्त्री मोदीको हार्दिकतापूर्ण स्वागत हुने परिस्थिति निर्माण भएको छ । भारतविरोधी मानिएको नेकपा–माओवादीसमेत भारतीय विदेशमन्त्रीको भ्रमणपछि बदलिएको छ र भारतसँग राजनीतिक तहमा सम्बन्ध स्थापित गर्ने कार्यमा सहयोगी बन्ने भएको छ । यस परिप्रेक्ष्यमा मोदीको भ्रमणपश्चात् नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गर्न थालिएको छ । विदेशमन्त्रीको भ्रमणका क्रममा व्यक्त विचार तथा उहाँको व्यवहारले भारत नेपालसँग उच्च तहको राजनीतिक सम्बन्ध स्थापित गर्न इच्छुक रहेको स्पष्ट पारेपछि प्रधानमन्त्री मोदीको भ्रमण थप फलदायी हुने विश्वास गरिएको हो । पूर्वअनुमान गरिएभन्दा भारत अलिक बढी नै उदार देखिएकोले मोदीको भ्रमण हरेक दृष्टिकोणले ऐतिहासिक बन्न सक्ने ठानिएको छ ।
भारतीय पक्ष पूर्ण गृहकार्यसहित नेपालसँगको सम्बन्ध सुदृढ बनाउन अग्रसर देखिए पनि नेपाली पक्षमा भने तयारीको पर्याप्त कमी पाइएको छ । भारतको नयाँ संस्थापन पक्ष ऊर्जा विकासमा नेपालसँग साझेदारी गर्न जुन स्तरको उत्साहका साथ अघि बढ्न खोजेको देखिन्छ, नेपाली पक्षमा त्यसस्तरको तयारी समयमै हुन सकेन ।
नेपालले ऊर्जा विकासबारे केही अघिदेखि मात्र गृहकार्य गरेको भए तत्काल कार्यान्वयनमा जाने गरी ठोस सम्झौता हुनसक्थ्यो । तथापि राजनीतिक दलहरूबीच ढिलै भए पनि ‘खुला विकल्पसहित सम्झौतामा जाने’ सहमति भएपछि ऊर्जा विकासबारे सम्झौता हुने निश्चितप्राय: भएको छ । त्यसैगरी व्यापारघाटा कम गर्ने, राधिकापुर मार्गलाई निर्वाध प्रयोग गर्ने, तराईका हुलाकी मार्गहरूको निर्माण तथा सुधार गर्ने, कुनै ठूलो जलविद्युत् आयोजनामा भारतको लगानी सुनिश्चित गर्नेलगायतका विषयमा वास्तवमा नेपालले गृहकार्य नै गरेन । विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण हुने बेलासम्म ऊर्जा विकाससम्बन्धी प्रस्तावित सम्झौतामा उल्लिखित केही शब्दावलीलाई लिएर वादविवादमै समय खर्चने काम भयो । अन्य कुनै विषयमा सम्झौता गर्नेबारे आन्तरिक तयारी नै भएन । स्वराज स्वदेश फर्कनुभएपछि मात्र सरकार र प्रमुख राजनीतिक दलहरू केही तात्न थालेका हुन् । ढिलोगरी सुरु भएको गृहकार्यले नेपाल आफैँ लाभान्वित हुने अवसरबाट वञ्चित हुने हो कि भन्ने त्रास पैदा भएको थियो ।
नेपालभित्र ऊर्जासम्बन्धी सम्झौतालाई लिएर उत्पन्न अन्योलको अन्त्य प्रधानमन्त्री मोदीको भ्रमण हुने बेलासम्ममा भइसक्ने सम्भावना छ । यदि मोदीसँग नै ऊर्जासम्बन्धी सम्झौता हुन सक्यो भने ‘म्यान अफ एक्सन’को परिचय बनाउनुभएका उहाँले समयमै सम्झौता कार्यान्वयन गर्नुहुने विश्वास गरिन्छ । भारतीय प्रधानमन्त्री मोदी पशुपतिनाथको दर्शन मात्र गर्न पाएकोमा पनि बेहद प्रसन्न हुने नेतामा पर्नुहुन्छ । साउन महिनाको सोमबार पारेर पशुपतिनाथको दर्शन गर्नुहुने उहाँ नेपाल र नेपालीलाई भारतप्रति पूर्ण विश्वस्त तुल्याउन पनि समर्थ हुनुहुने विश्वास गरिन्छ । यदि मोदीको यही खुसीलाई मात्र नेपालीले महान् उपलब्धि ठान्ने हो भने त्यस्तो उपलब्धि नेपाललाई अवश्य प्राप्त हुनेछ । तर, कार्यान्वयन तहको उपलब्धि हासिल गर्न भने नेपालले अलिक बढी नै गृहकार्य गर्नुपर्ने र पूर्वसोच–व्यवहारमा परिवर्तन ल्याउनुपर्ने देखिएको छ । प्रखर वक्ताका रूपमा समेत परिचित भारतीय प्रधानमन्त्री मोदीले नेपालको व्यवस्थापिका संसद्लाई सम्बोधन गर्नुहुनेछ । उहाँको सम्बोधनको नेपालका सभासद् मात्र नभई आमदेशवासीहरूले समेत व्यग्रतापूर्ण प्रतीक्षा गरिरहेका छन् । नेताहरूको भाषण सुनेकै भरमा समय गुजार्दै आएका नेपालीको निम्ति मोदीको मन्तव्य ‘विशेष’ हुने त निश्चित छ, तर भ्रमणबाट ठोस उपलब्धि हासिल गर्ने सवालमा नेपालको टीठलाग्दो तयारीले यो सुवर्ण अवसरको उच्चतम सदुपयोग नहुने खतरा भने कायम छ । तथापि गत सोमबार र मंगलबार (साउन १२ र १३ गते) सम्पन्न त्रिदलीय बैठकले दिएको सुझावका आधारमा तर्जुमा गरिएका एजेन्डाहरू दुईपक्षीय सम्बन्ध सुदृढीकरणका निम्ति मार्गदर्शन हुने विश्वास गरिएको छ ।