साहित्यले जोड्दै छ दुईदेशीय सम्बन्ध

साहित्यले जोड्दै छ दुईदेशीय सम्बन्ध


bichar– सुदर्शन अर्याल
असम भारतमा जन्मिएका डम्मर दाहालले जब आफ्नो जीवन साहित्यतर्फ मोडे उनको दैनिकी भारतमा भन्दा बढी नेपालमा नै बित्न थाल्यो । साहित्यिक कार्यक्रममा सहभागी हुन होस् या त अन्य कामले, उनी अहिले भारतमा भन्दा बढी नेपालमै रहन थालेका छन् । भारतीय नागरिक भए पनि नेपाली भाषा र साहित्यप्रतिको मोहले गर्दा उनको बसाइ भारतभन्दा बढी नेपालमा हुन थालेको हो । आफ्नो जन्मभूमिमा पुग्दा त उनी आजभोलि पर्यटकजस्तै बन्ने गरेको अनुभव सुनाउँछन् । त्यसो त कतिपय नेपाली पनि अध्ययन÷अध्यापन र त्यस्तै अन्य विभिन्न कामका लागि दार्जिलिङ, आसामलगायतका नेपालीभाषीको बाहुल्य रहेका प्रान्तमा नगएका होइनन् ।
राजनीतिक रूपमा पनि नेपाल र भारतबीचको निकटता र सम्बन्धबारे चर्चा चलिरहेको यस समयमा माथिको उदाहरणले साहित्यले पनि दुईदेशीय घनिष्टतालाई बढावा दिएको पुष्टि गरेको छ । अहिले नेपाली तथा भारतीय नेपाली साहित्यकारबीचको भौगोलिक सिमानालाई साहित्यिक सम्बन्धले मेटाउँदै लगेको छ ।
विगतलाई फर्केर हेर्ने हो भने एक शताब्दीभन्दा लामो इतिहास बोकेको नेपाल–भारतबीचको साहित्यिक मित्रताले जतिजति लामो इतिहास बनाउँदै छ त्यति नै सम्बन्धमा बढी गाढापन ल्याएको अनुभव अहिलेका नेपाली र नेपाली मूलका भारतीय साहित्यकार दुवै पक्षले सहर्ष स्वीकार गरेकै कुरा हो ।
पछिल्लो समय नेपाल र भारतका नेपाली साहित्यप्रेमीले विभिन्न कार्यक्रम आयोजना गर्दै अतिथिका रूपमा अर्काे देशका साहित्यकारलाई बोलाउने प्रचलनले पनि एक–अर्कामा अपनत्व कायम गराएको साहित्यकारको बुझाइ रहेको छ । यस्ता कार्यक्रममा सहभागी दुवै पक्षका साहित्यकार एवम् साहित्य क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाका प्रतिनिधिले साहित्यको उत्थानका निम्ति एक–अर्काले गरेको योगदानको कदर एवम् त्यसको प्रशंसासमेत गर्दै आएका छन् ।
केही दिनअघि काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रममा बोल्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यले नेपाल र भारतबीचको भौगोलिक दूरीलाई कम गर्दै लगेको भन्दै त्यसमा भारतीय नेपाली साहित्यकारले पु-याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । त्यस्तै, भारतमा नेपाली भाषाको अवस्था र समस्याको विषयमा अध्ययन गर्न भानु प्रतिष्ठानको आयोजनामा भारतका विभिन्न प्रान्तमा पुगेको साहित्यिक टोलीका सदस्य एवम् प्रतिष्ठानका महासचिव डीपी अर्यालले पनि भ्रमणपश्चात् नेपाली साहित्यको विकासमा भारतीय नेपालीले पु-याएको योगदान र नेपाली भाषा विकासका लागि उनीहरूको सक्रियता सराहनीय रहेको बताउनुभयो ।
उता भारतीय नेपालीले पनि नेपालमा गरिने विभिन्न कार्यक्रममा आफूहरूलाई खबर नगर्ने गरेको भन्दै गुनासो गर्ने गर्छन् । भानुजयन्तीको अवसरमा गोरखामा भएको अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा बोल्ने अधिकांश साहित्यकारले नेपाली भाषा र साहित्यले दुईदेशीय सिमानालाई मेटाउँदै लगेको भन्दै हरेक दुवै पक्षले गरेको कार्यक्रममा एक–अर्काको सहकार्य र उपस्थिति आवश्यक रहेकोमा जोड दिएका थिए ।
अहिले साहित्यको माध्यमले नेपाल र भारतबीचको दुईदेशीय सम्बन्ध नजिकिँदै गएको छ । अहिले यस्तो सम्बन्ध विकास हुँदै एक–अर्काका बीचमा एकले गरेको सम्पूर्ण कार्यक्रममा अर्कालाई अतिथिको रूपमा आमन्त्रण गर्ने परिपाटीले गर्दा पनि दुईदेशीय भौगोलिक सिमानालाई साहित्यिक नाताले मेटाउँदै लगेको साहित्यकारको बुझाइ रहेको छ ।
यस्तोे छ दुईदेशीय साहित्यको इतिहास
नेपाल र भारतको साहित्यिक इतिहासलाई केलाउने हो भने हामी एक शताब्दीभन्दा अगाडिको समयमा पुग्नुपर्ने हुन्छ । वि. सं. १९३९ सालमा मोतीराम भट्टले अध्ययनका निम्ति भारतको बनारसमा रहँदा ‘मोतीमण्डली’ नामक साहित्यिक संस्थाको गठन गरी त्यसै संस्थामार्फत साहित्यिक कृतिहरूको प्रकाशन गर्ने गरेका थिए । जुन समयमा नै भट्टले नेपाली साहित्यमा शृङ्गारिक धाराको सुरुवात गर्ने काम गरेका थिए । जुन साहित्यिक संस्थाकै नामबाट त्यसैको केही वर्ष पछाडि नेपालमा पनि नेपालकै जेठो साहित्यिक संस्थाको रूपमा ‘मोतीमण्डली’को स्थापना गरियो । त्यसैगरी नेपालकै पहिलो साहित्यिक प्रकाशित कृति ‘भानुभक्तीय रामायणको बालकाण्ड’ पनि भारतबाट नै प्रकाशित भयो । यसरी नेपालमा स्थापना भएको पहिलो साहित्यिक संस्था र पहिलो कृतिकोे इतिहास नै भारतसँग जोडिएको छ । जसले गर्दा हामी नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर गराउन पनि साहित्यले विगतदेखि नै ठूलो भूमिका निर्वाह गर्दै आएको छ भन्न सक्दछौँ । तत्कालीन समयमा राणा शासनले गर्दा निर्वाध रूपमा साहित्य रचना गर्न नसक्ने अवस्थामा पनि भारतीय भूमिबाटै नेपाली साहित्यले विकासको सास फेर्न पायो र नेपाली जनतालाई पनि कतिपय साहित्यकारहरूले यसैगरी भूमिगत रूपमा सुसूचित गराउने कोसिस गरेका थिए । त्यसैगरी वि.सं. १९४३ मा मोतीराम भट्टको सक्रियतामा नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ पनि बनारसबाट नै प्रकाशित भयो । वि.सं. १९५८ मा सरकारको पूर्ण स्वामित्वमा रहेको ‘गोरखा पत्र’ प्रकाशन भए पनि त्यसपछि वि.सं. १९९१ मा ‘शारदा’ नामक साहित्यिक पत्रिकाको प्रकाशन हुनुभन्दा अगाडि कुनै पनि थप पत्रपत्रिकाहरू प्रकाशनमा आउन सकेन । त्यस समयमा पनि भारतबाट प्रकाशित हुने सुन्दरी, माधवी, गोर्खाली, नेपाली साहित्य सम्मेलनलगायतका पत्रपत्रिकाले नेपाली साहित्य र नेपाली साहित्यकारको उत्थानमा महत्वपूर्ण सहयोग पु-याएका थिए । वि.सं. २००३ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाले समेत प्रवासमा गएर ‘युगवाणी’ पत्रिकाको सम्पादक बनेर नेपाली साहित्यिक क्रान्तिको बीउ छर्दै प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यस्तै, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधानलगायतले पनि नेपाल बाहिरै रहेर पनि नेपाली साहित्यलाई ठूलो गुन लगाए ।