तीन भारतीय सशस्त्र प्रहरीको कब्जामा

तीन भारतीय सशस्त्र प्रहरीको कब्जामा


सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित शनिबार तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरी प्रहरीले जनाकारी दिएको छ ।

सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक नीरन थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–६ श्रीपुरजब्दी धताटोलबाट विवेक यादव र मोटरसाइकल चालक सुमितकुमार गोइतलाई पक्राउ गरेको छ ।

जाँचका क्रममा उनीहरुलार्ई पेस्तोलसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक राजन अधिकारीले जानकारी दिए। बिआर ५० एफ ३२०६ नम्बरको अपाची मोटरसाइकलको सिटमुनि लुकाएको अवस्थामा मुखियालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको उनको भनाई छ।

पक्राउ परेका मुखियाको साथबाट एक थान कटुवा पेस्तोल, दुई थान मोबाइल, चाँदीको ब्रस्लेट, चाँदीको सिक्री र केही नगद बरामद गरेको छ । पक्राउ परेका तीनैजना सशस्त्र प्रहरीको नियन्त्रणमा रहेकाले घटनाको विषय बुझ्ने कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।