मालदिभ्सको राष्ट्रपतिमा भारतसमर्थक सोलिहको सपथ ग्रहण

मालदिभ्सको राष्ट्रपतिमा भारतसमर्थक सोलिहको सपथ ग्रहण


सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले शनिबार राष्ट्रपतिका रूपमा सपथ ग्रहण गरेका छन् ।

उनले मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गरेका थिए । यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको बताउने गरिन्छ ।

माल्दिभ्सको तत्कालिन राष्ट्रपति यमीनले प्रतिपक्षी दलका चर्चित नेता विभिन्न अभियोगमा जेल र विदेश निर्वासनमा रहेका समय भएको निर्वाचनमा राष्ट्रपतिका लागि खासै निर्वाचन पहिले चर्चा नपाएका ५४ वर्षीय सोलिहले यमीनको अपेक्षा विपरित निर्वाचनमा बहुमत पाएका थिए ।

राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको संसदको विशेष समारोहमा सोलिहले सपथ गरेका हुन् । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका विदेशमन्त्री लु शुगाङलगायत स्वदेशी तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो ।

मालदिभ्सले झण्डै ८० प्रतिशतभन्दा बढी कर्जा चीनसँग लिएको अवस्थामा भारत तथा यूरोपेली मुलुकहरूको समर्थन रहेका सोलिहको सत्ता आगमनलाई विशेष चासोका साथ हेरिएको एपीले जनाएको छ ।