बाँके जिल्ला कारागार : क्षमता तीन सय, कैदीबन्दी ६७९

बाँके जिल्ला कारागार : क्षमता तीन सय, कैदीबन्दी ६७९


बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । तीन सय कैदीबन्दी क्षमताको कारागारमा पर्याप्त कोठा अभावमा महिला ५६, पुरुष ६२३ र एक आश्रित बालकसहित ६७९ कैदीबन्दी राखिएको जेलर श्यामलाल लामिछानेले जानकारी दिए । उनले चारैतिर बलिया पर्खाल नरहेका, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताए ।

नेपालगञ्ज–१० स्थित सो कारागारको भौतिक अवस्था दिन प्रतिदिन जीर्ण बन्दै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीबन्दीको संख्या बढदै गएको, वरपर अत्यन्तै फोहोर र ढल निकासको पर्याप्त व्यवस्था नरहेको बताइएको छ । फोहोरकै कारण सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । सुरक्षाका लागि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी छन् ।

जेलर लामिछानेका अनुसार जिल्लाको गनापुरमा आठ बिगाह क्षेत्रफलमा खुला कारागार निर्माणको काम जारी रहेको छ । कारागारको ब्यारेकको निर्माण सकिएको र अन्य संरचना निर्माण भइरहेका बताइएको छ । उक्त खुला कारागारमा रहने कैदीबन्दी बाहिर काममा जान सक्ने प्रावधान राखिएको छ । बाँकेकै नौबस्तामा पनि १० बिगाह क्षेत्रफलमा तीन हजार कैदीबन्दी अटाउने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुवै कारागारको निर्माण पाँच वर्षभित्र सक्नुपर्ने सम्झौता गरिएको छ ।