ट्रम्पद्वारा डढेलो क्षेत्रको भ्रमण, ७६ को मृत्यु, अझै हजार बेपत्ता

ट्रम्पद्वारा डढेलो क्षेत्रको भ्रमण, ७६ को मृत्यु, अझै हजार बेपत्ता


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रको भ्रमण गरेका छन् । शनिबार स्थलगत अवलोकनपछि राष्ट्रपति ट्रम्पले विगतमा झैँ वन व्यवस्थापनमा भएको कमजोरीका कारण पछिल्लो दुखद घटना भएको बताए ।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो नजिकका गाउँ–सहरमा फैलिएर हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ भने अरू एक हजारभन्दा बढी बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् । ‘यो धेरै दुखद् छ,’ ट्रम्पले प्याराडाइजमा भने । डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन् ।

१२ हजार पाँच सय भवन ध्वस्त, ८ नोभेम्बरबाट शुरु भएको डढेलो पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने अनुमान

डढेलो करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ । यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने अनुमान गरेका छन् । डढेलोबाट जंगल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनर्निर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ ।

‘विवरण तलमाथि हुन सक्छ, खोजी तथा उद्धार भइरहेको छ,’ एक सरकारी उच्च अधिकारीले पत्रकारसँग भने । खोजी अझै जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीले बताएका छन् । यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जंगलमा अकस्मात् आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो । डढेलोबाट झन्डै १० हजार निजी घर र दुई हजार ५ सयभन्दा बढी अन्य भवन ध्वस्त भएका छन् ।