श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पछिल्लो समय बढ्दै गएको शक्तिसंघर्ष समाप्त गर्ने उद्देश्यले आइतबार मुख्य राजनीतिक दलका नेताहरूलाई वार्ताका लागि आमन्त्रण गरेका छन् । गत महिना अक्टोबर २६ मा प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरेयता श्रीलंकामा राजनीतिक तनाव चुलिएको छ ।
राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा गरेको नियुक्त अवैधानिक रहेको भन्दै बर्खास्तीमा परेका विक्रमासिंघेले अदालतमा मुद्दा दायर गरेका थिए । साथै, पुनस्र्थापित संसदले मतदान गरी राजापाक्षेलाई पदबाट हटाएको छ ।
रनिल विक्रमासिंघेले आफू अझै मुलुकको प्रधानमन्त्री रहेको दाबी गर्दै आएका छन् । राष्ट्रपति सिरिसेनाले संसदमा रहेका दलका प्रतिनिधिहरूसँग आज बैठक डाकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिले हालको राजनीतिक अस्थिरता र द्वन्द्वको अवस्था अन्त्य गर्न बैठक बोलाएका हुन् । उनले संसदको कारबाहीलाई नियमित गर्न चाहेका छन् ।
गत साता राजापाक्षे पक्षधरका सांसदहरूले अविश्वासको प्रस्तावमाथि छलफल हुन नदिन संसदमा फर्निचर तोडफोड गर्नुका साथै विपक्षीहरूमाथि खोर्सानीको धुलो फालेका थिए ।
राजापाक्षका विपक्षमा शुक्रबार भएको दोस्रो मतदानपछि विक्रमासिंघेले आफ्नो सरकार पुनस्र्थापित हुनुपर्ने माग गरेका थिए, तर राष्ट्रपति सिरिसेनाका तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।
विक्रमासिंघेले श्रीलंकामा स्थायित्व आवश्यक रहेको बताउँदै संवैधानिक संकट निम्त्याउने गरी शक्तिसंघर्ष भए पनि आफू राष्ट्रपतिसँग मिलेर कार्य गर्न तयार रहेको स्पष्ट गरे । राष्ट्रपतिले विक्रमासिंघेलाई पदच्यूत गरेपछि नोभेम्बर ९ मा संसदसमेत विघटन गरेका थिए, तर सर्वोच्च अदालतले राष्ट्रपतिको आदेशलाई खारेज गर्नुका साथै संसद पुनस्र्थापना गरेको थियो ।
१९ दिनदेखि श्रीलंकाको प्रधानमन्त्रीमा दुई नेताले दाबी गरिरहेका थिए, तर बिहीबार संसदका सभामुख कारु जयसुरिया कुनै पनि नेतालाई प्रधानमन्त्रीका रूपमा मान्यता दिन असफल भएको छ । उक्त कदमसँगै आधिकारिक रूपमा श्रीलंकामा सरकार छैन ।
प्रतिक्रिया