राष्ट्रिय खेलकुद परिषदले तीन पारा ओलम्पियन खेलाडीलाई आजीवन मासिक भत्ता प्रदान गरेको छ । पारा ओलम्पियन विक्रमबहादुर राना, लक्ष्मी कुँवर र मैया विसंखेलाई गत साउनदेखि कात्तिक महिनासम्मको मासिक ३ हजारका दरले जनही १२ हजार नगद राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रदान गरेका छन् ।
एथलेटिक्सका विक्रमले लन्डन र ब्राजिल पारा ओलम्पिक, पौडीकी लक्ष्मी कुँवरले ब्राजिल पारा ओलम्पिक तथा एथलेटिक्सकी मैयाले लन्डन पारा ओलम्पिकमा सहभागिता जनाएका थिए ।
गत असोजमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बसेको राखेपको ११०औँ बोर्ड बैठकले पारा ओलम्पिकमा सहभागी खेलाडीलाई पनि गृष्मकालीन ओलम्पिकमा सहभागी खेलाडीसरह आजीवन मासिक भत्ता प्रदान गर्ने निर्णय गरेको थियो ।
१९६४ गृष्मकालीन खेलकुदमा सहभागी ५९ खेलाडीलाई राखेपले मासिक ३ हजारका दरले साउनदेखि भत्ता उपलब्ध गराउन थालेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन् ।
रकम हस्तान्तरणपछि सदस्यसचिव विष्टले केही प्राविधिक कारणले पारा ओलम्पियन खेलाडीलाई भत्ता दिन ढिलाइ भएको बताउँदै आगामी दिनमा रकम वृद्धि गर्दै लैजाने प्रतिबद्ध जनाए । सदस्यसचिव विष्टले रकम सानै भए पनि यसले खेलाडीलाई प्रोत्साहन गर्नुका साथै मनोबल वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रतिक्रिया