नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौँपटक विजयी भएका छन् । मंसिर १ गते सम्पन्न योनेक्स सनराइज आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा एपीएफका दीपेश धामीलाई २१–११, २१–१६ को सहज जितसँगै रत्नले सातौँपटकको विजयी इतिहास रच्न सफल भएका हुन् ।
तामाङले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उपविजयी दीपेशले नगद २० हजार, तेस्रो स्थान हात पार्ने सेनाका नवीन श्रेष्ठ र रुकेश महर्जनले नगद १०–१० हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फको खेलम सेनाकी नङसलदेवी तामाङले सेनाकै रसिला महर्जनमाथि जित निकाल्दै पुनरागमन गरेकी छिन् । अघिल्लो संस्करणमा जेसिका गुरुङसँग पराजित भएकी नङसलले महर्जनलाई २२–२०, १५–२१ र २१–८ ले पाखा लगाइन् । तामाङले ५० हजार र उपविजेता महर्जनले २५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । एपीएफका शोभा गौचन र जेसिका गुरुङले तेस्रो स्थान हात पार्दै नगद १०–१० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगलतर्फ सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी विजयी भयो । रत्न र नवीनको जोडीले एपीएफका दीपेश धामी र विजित थापामगरको जोडीमाथि २२–२०, २०–२२ र २१–११ को कठिन जित निकाल्दै उपाधि जित्ये । तेस्रो स्थानमा सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपीएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे । शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
महिला युगलतर्फ एपीएफका पूजा श्रेष्ठ र जेसिका गुरुङको जोडीले उपाधि हात पा¥यो । श्रेष्ठ र गुरुङको जोडीले सेनाका नङसल तामाङ र रसिला महर्जनको जोडीलाई २१–१३, २१–१४ को सोझो सेटमा हार चखाए । विजयी जोडीले नगद २० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेताले नगद १० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी तथा तेस्रो स्थान प्राप्त गर्ने जेस्ट ब्याडमिन्टनकी सीता राई र बाँकेकी सम्झना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले नगद ५–५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
यू–१७ ब्वाइजतर्फ दुवई जुनियर अन्तर्राष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई २१–१६, २१–५ को सहज जितका साथ पहिलो स्थान प्राप्त गरे । दाहालले नगद १५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । यस्तै दोस्रो स्थानका दिवसले ७ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी तथा तेस्रो स्थानमा रहेका जेस्टका प्रियान्सुसिंह क्षेत्री र पेम्बा शेर्पाले नगद ५–५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
यसैगरी महिलातर्फको खेलमा सेनाकी रसिला महर्जनले सेनाकै रञ्जना भट्टलाई २१–५, २१–५ ले पाखा लगाउँदै उपाधि हात पारिन् । महर्जनले नगद १५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । उपविजयी रञ्जनाले नगद ७ हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन् । तेस्रो स्थानमा रहेका मोरङका रोज पाण्डे र सीमा राजवंशीले नगद ५–५ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।
यस्तै मास्टर्स ४५ वर्षमाथिको प्रतियोगितामा सेनामा सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडीले बाजी मा¥यो । सुभाष र भूमिको जोडीले जेस्टका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीमाथि १६–२१, २१–६, २१–१६ को सेटमा पराजित गरे । यो उनीहरूको लगातार २०औँ उपाधि जित हो । तेस्रो स्थानमा जेस्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडी रहे । शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २०, १० र ५–५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
विजयी खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया