बज्र फाइटमा सनी लगातार तेस्रोपटक च्याम्पियन

बज्र फाइटमा सनी लगातार तेस्रोपटक च्याम्पियन


नेपाली सेनाका सनी सुनार बज्र फाइटको पुरुष ७६ केजीमुनि पहिलो भएका छन् । नेपाल क्योकुसिन कराते डो संघ बज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनी थाई बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेस्रोपटक च्याम्पियन बनेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन पहिलो भए । उनले थाई बक्सिङका दीपेन्द्र खनाललाई हराए । अर्को ५५ केजीमुनिको प्रतिस्पर्धामा बज्रका महेश भुजेल प्रथम भए । उनले नक्साल बक्सिङ क्लबका यानभ थुलुङ राईको चुनौती समाप्त पारेका थिए ।

६२ केजीमुनि सेनाका चोपबहादुर बुढाथोकी विजयी भए । उनले नक्सालका अभिषेक राईलाई निराश पारे । ६२ केजीमुनिकै अर्को भिडन्तमा बनेपा डोजोका सजित प्रजाले शीर्ष स्थान हात पारे । उनले थाई बक्सिङका सुदीप श्रेष्ठलाई पाखा लगाए ।

पुरुष ६९ केजीमुनि सेनाका विकास गुरुङले बाजी मारे । उनले बनेपाका प्रवीण मेचेलाई पन्छाए । महिला ५१ केजीमुनि नक्सालकी तेजी गुरुङ पहिलो भइन् । तेजीले एपीएफकी मनीषा राईलाई हराइन् ।

विजेतालाई आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले पुरस्कृत गरेका थिए । १४ खेलाडी सहभागी एकदिने प्रतियोगिताको कुल नगद पुरस्कार राशि १ लाख रुपैयाँ रहेको छ । बज्र फाइट प्रत्येक महिना आयोजना गर्ने संघको कार्यक्रम रहेको छ ।