जन्मथलो
पहाडको दुर्गम ठाउँ
त्यहीँ जन्मियो, हुर्कियो, बढियो
अलअलि जान्ने–बुझ्ने भएपछि
के बस्नु पहाडमा पाखे भएर
दुःखी रहेछ पहाडको ठाउँ
सधैँ दुःख गर्नुपर्ने
एक छाक खान पनि
पुर्खाहरू पनि
ढुङ्गा पल्टाउँदा पल्टाउँदै
यहीँ मरे ।
नुन–तेल सकियो
सहर जा
कोही बिरामी भो
डोकामा बोकेर
सहर झार ।
बालबच्चा पढाउन
सहर लैजा ।
केही रहेनछ पहाडमा त
न विकास छ
न सभ्यता नै
आफ्नै माटो खनिखोस्री
गरेर खान पनि
दुःख भयो ।
छोडियो गाउँघर
पसियो सहर
मीठो सपना बोकेर
तर
सहर त कहाँ
देखेजस्तो र
सोचेजस्तो रहेछ र
आफैँभित्र व्यथैव्यथा
बोकेर बाँचेको रहेछ ।
सारङ्गीको जस्तो
खोक्रो पेट लिएर
सहर त झन्
गाउँबाटै आउनेहरूसँग
हात थापेर पो खाँदो रहेछ ।
प्रतिक्रिया