दाङ जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले बुधबार (६ साउन) ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ ।
बङ्गलाचुली गाउँपालिका–८ स्थित घोरलभिर भनेर चिनिने पिपली जङ्गलको झाडीमा लुकाराखेको अवस्थामा ११ नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरीचौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले बिहान ९ बजे जङ्गलका विभिन्न स्थानमा लुकाइ राखेको अवस्थामा १० वटा चालु र एक नाल नचल्ने बन्दुक फेला पारी बरामद गरिएको हो । ती बन्दुक कसले कुन प्रयोजनका लागि राखेको भन्नेबारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले मङ्गलबार लमही नगरपालिका–१ नर्तीस्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो । गत सोमबार लमही नगरपालिका–९ स्थित च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट पनि प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेका थियो । लगातार तीन दिनको अवधिमा जिल्लामा १४ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् ।
प्रतिक्रिया