निर्देशक पदमा तीनजना सिफारिश

निर्देशक पदमा तीनजना सिफारिश


त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको नयाँ निर्देशक पदमा वरिष्ठताका आधारमा अस्पतालमा सेवारत तीनजना चिकित्सकको नाम सिफारिश गरिएको छ ।

अस्पतालका तत्कालीन निर्देशक प्रा डा दीपक महराले आफ्नो कार्यकाल समाप्त भई पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो । निर्देशक छनोट समितिको आज यहाँ बसेको बैठकले प्रा डा प्रेम खड्का, प्रा डा वाइपी सिंह र प्रा डा सुशील शिल्पकारलाई नाम सिफारिस गरेको बताइएको छ ।

त्रिविवि, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदिश अग्रवाल संयोजक रहेका निर्देशक सिफारिस समिति गठन भएको थियो । सो समितिमा प्रा डा प्रदीप ज्ञवाली र प्रा डा अभिमन्यु झा रहेका थिए । त्रिविवि कार्यकारी बैठकले सिफारिसमध्ये एक जनालाई चयन गर्ने छ ।

सहमतिका आधारमा तीन जनाको नाम सिफारिस गरिएको निर्देशक चयन समितिका एक सदस्यले राससलाई जानकारी दिए । चिकित्सा विज्ञानको अध्ययन अध्यापनमा संस्थान दक्षिण एशियामा नै अब्बल रहेको छ ।