रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2बिनाचालकको सवारी
प्रविधिले दिनानुदिन फड्को मारिरहेको बेला सडकमा बिनाड्राइभरको गाडी गुड्न लागेको कुरा कुनै अनौठो विषय नबन्न सक्छ । हो, आगामी वर्ष (सन् २०१५)भित्रै बेलायतका सडकमा यस्ता चालकबिनाका गाडी कुदेको देख्न सकिनेछ । परिवर्तनकारी प्रौद्योगिकीअन्तर्गत एक पायलट परियोजनाको रूपमा बेलायती सरकारले आगामी जनवरीदेखि नै यस्तो प्रयोग सुरु गर्दै छ । चालकरहित कार परिचालनको अनुमति तत्कालका लागि बेलायतका तीनवटा सहरलाई मात्र मिल्नेछ । कम्प्युटरद्वारा नियन्त्रित हुने अर्थात् क्यामेरा तथा सेन्सरको माध्यमबाट गाडीलाई दिशा प्रदान गर्ने यस्तो प्रविधि परीक्षणका लागि बेलायत सरकारले अनुसन्धानकर्तालाई एक करोड पाउन्ड उपलब्ध गराउँदै छ । स्मरणीय के छ भने यस्तो प्रविधिको प्रयोग यसअघि नै अमेरिका र जापानमा भइसकेको भए पनि बिनाचालकको सवारीका लागि बेलायतले आफूलाई अग्रणी मुलुक तुल्याउने कसरत गर्दै छ ।

ड्रगिस्ट महिलाले उपद्रो मच्चाउँदा
उडिरहेको हवाईजहाजको आकस्मिक अवतरण गरिएका कैयन घटना विश्वमा घटिरहेका हुन्छन् । जहाजमा प्राविधिक गडबडी आउँदा, अपहरणकारीको चङ्गुलमा पर्दा या यस्तै कुनै विशेष कारणले जहाजलाई इमर्जेन्सी ल्यान्डिङ गराउनु अस्वाभाविक पनि ठानिँदैन । तर, एउटी महिलाको सामान्य मागकै कारण उडिरहेको जहाजलाई आकस्मिक अवतरण गराउनुप¥यो भनेचाहिँ यो आश्चर्यकै विषय बन्न पुग्छ । यस्तै अवस्था आइप¥यो ट्युनिसियाबाट एडिनबर्ग गइरहेको एक जहाजलाई । लगभग पचास वर्ष उमेरकी एक महिला यात्रीले एयरहोस्टेससँग लगातार एक खिल्ली चुरोट र प्यारासुटको माग गरिरहेकी थिइन् । ‘मलाई प्यारासुट देऊ, म फाल हान्न चाहन्छु’ भनी एकोहोरो कराउन थालेबाट हवाईजहाजका स्टाफहरू वाक्क भइसकेका थिए । यस्तैमा जहाजमै सवार एक युवतीलाई ती महिलाले गालामा थप्पड लगाइन् भने एउटी एयरहोस्टेसलाई पनि लात्ती लगाइन् । यति मात्र होइन, आफूले भनेजस्तो नभए जहाज नै उडाइदिने धम्कीसमेत दिन थालिन् उनले । यसरी उडिरहेको जहाजभित्रै उपद्रो मच्चाउन थालेपछि पाइलटहरूले जहाज अवतरण गराउनुको विकल्प देखेनन् । अवतरणपछि प्रहरीको जिम्मा लगाइएकी ती महिला फगत् एक ड्रङ्कर तथा नसेडी (ड्रग्स एडिक्ट) रहेकी पत्ता लाग्यो ।

अश्लील फोटोबापत कत्रो दाबी
आफ्नो अनुरोधको सुनुवाइ नभएको भन्दै एक अमेरिकी महिलाले फेसबुकमाथि झन्डै १२ करोड डलर क्षतिपूर्तिको मागसहित मुद्दा ठोकेकी छिन् । यति ठूलो रकम क्षतिपूर्ति दाबी गर्ने अपराध फेसबुकले के गरेछ त भन्ने जिज्ञासा स्वतः पैदा हुन्छ । एक पुरानो सेक्स पार्टनरले आफ्नो अश्लील तस्बिरहरू फेसबुकमा पोस्ट गरिदिएको र त्यसलाई हटाइदिन अनुरोध गर्दा फेसबुकले सुनुवाइ नगरेकोले बेइज्जत भएको भन्दै टेक्सासकी मारियम अली नामक ती महिलाले त्यत्रो रकम क्षतिपूर्ति दाबी गरेकी हुन् । आफ्नै साथी अदिल शाह खानद्वारा आपत्तिजनक तस्बिरहरू पोस्ट गरिएपछि मारियमले फेसबुक गुहार्न पुगेकी रहिछिन् । तर, फेसबुकले उनको यस अनुरोधको सुनुवाइ गर्ने कार्य खासै आवश्यक देखेनछ । शाहले अली नामको फेक आईडी बनाई अश्लील फोटोहरू पोस्ट गरेर प्राइभेसी नियमहरूको उल्लङ्घन गरेको उनको आरोप छ । आफ्ना पाँच वर्षअघिका तस्बिर यसरी फेसबुकमार्फत सार्वजनिक गरिँदा आफूलाई अत्यन्त बेइज्जतीको अनुभूति भएको मारियमको तर्क छ । उनका वकिलले पनि पाँच वर्षअघि नै मरियमले अलीसँग व्यक्तिगत सम्बन्ध तोडेकोले त्यसरी पुराना तस्बिर सार्वजनिक हुँदा फेसबुकले अनुरोध सुनुवाइ नगर्नु अन्याय भएकाले मागेबमोजिम क्षतिपूर्ति तिर्नुपर्ने जिकिर गरेका छन् ।

पराया सुन्दरीमा नजर लागेपछि…
देशका जवान पुरुषहरूको नजर स्वदेशी युवती छोडेर घरेलु कामदारका रूपमा साउदी अरब आएका महिलामाथि गाडिन थालेपछि साउदी अरब सरकार टाउको दुःखाइमा परेको छ । ‘घरकी मुर्गी दाल बराबर’ भन्ने उखान पछ्याउँदै आफ्नो देशका महिलाको उपेक्षा गर्दै धमाधम विदेशी युवतीसँग विवाह गर्न थालेपछि साउदी सरकारले चार देशका महिलासँग विवाह गर्न नपाइने कडा उर्दी जारी गरेको छ । साउदी अरबका पुरुषहरूले विवाह गर्न नपाउने भनी त्यहाँको सरकारबाट तोकिएका देशमा पाकिस्तान, बंगलादेश, चाड र म्यानमार परेका छन् । घरेलु तथा अन्य कामदारका रूपमा उल्लिखित देशहरूबाट मात्र पाँच लाखभन्दा बढी महिला साउदी पुगेका छन् । जताततै विदेशी महिला छाएपछि त्यहाँका युवाको मन बरालिन पुगेको साउदी सरकारको ठहर रहेको स्थानीय ‘मक्का’ नामक अखबारले जनाएको छ । प्रतिबन्धित मुलुककै युवतीसँग विवाह नगरी नहुने अवस्था आएमा जटिल प्रक्रियाबाट गुज्रिएर स्वीकृति लिन सकिने पनि बताइएको छ ।