कुटपिट गरी सात लाखको डकैती

कुटपिट गरी सात लाखको डकैती


महोत्तरीको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।

डकैतीमा सात लाख रुपैयाँ मूल्यबराबरको धनमाल लुटिएको छ भने पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार सशस्त्र डाकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर रु. दुई लाख नगद, पाँच तोला सुन, तीनवटा मोबाइल, १० थान साडी र अन्य गरगहनासहित सात लाख रुपैयाँ मूल्यबराबरको धनमाल लुटेर लगेका छन् ।

१२–१४ जनाको समूहमा आएका सशस्त्र डाकाहरूले ललिन यादवका साथै स्थानीय सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी पाँचजनालाई घाइते बनाएका छन् ।

डाकाहरूले घरेलु हतियार प्रहार गरी ललिन यादव, सुरेन्द्र यादव, सञ्जीव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा काटेर घाइते बनाएका छन् ।

डाकाहरूको कुटाइबाट सुरेन्द्र यादवको अवस्था गम्भीर रहेको छ भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यता बाँकी चारजनाको उपचार सम्सी स्वास्थ्य चौकीमा भइरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट डाकाहरूको व्यापक खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।