शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड

शेषनारायणको मन्दिरमा दर्शनार्थीको भीड


काठमाडौंको दक्षिण भेगस्थित शेषनारायणको मन्दिरमा हरिबोधनी एकादशीका दिन लाग्ने मेला भर्न आज दर्शनार्थीको भीड लागेको छ । काठमाडौं उपत्यका तथा दक्षिणकाली आसपास क्षेत्रबाट भक्तजन सो मन्दिरमा नारायणको पूजा गर्न भीड लागेको हो ।

उक्त मन्दिरमा मेला भरेर आज नारायणको पूजा गरेमा साक्षात नारायण प्रसन्न भई पारिवारिक सुख, शान्ति कायम भई मनोकांक्षा पूरा हुने जनविश्वास रहेको स्थानीय समाजसेवी दिलीप शर्माले बताए ।

काठमाडौंबाट करिब १६ किलोमिटरको दूरीमा रहेको सो मन्दिर हाल दक्षिणकाली नगरपालिकामा पर्दछ । काठमाडौं उपत्यकाको चार नारायणमध्ये शेषनारायणलाई प्रसिद्ध धार्मिक स्थलका रूपमा लिइएको छ । शेषनारायणको उत्पत्तिका कारण यही नै हो भन्नेबारे प्रस्टता छैन, यसको महत्वबारे विभिन्न किंबदन्ती पाइन्छ । शीतल अनि शान्त वातावरणमा रहेको उक्त मन्दिरलाई बौद्ध धर्मावलम्बीले पनि सम्मान प्रकट गर्दै विशेष महत्वका साथ दर्शन गर्ने गरेका छन् ।

बिहानैदेखि भीड लागेको मन्दिर सर्वसाधारणको दर्शनका लागि साँझसम्म खुल्ने आयोजकले जनाएको छ । हिन्दू धर्मावलम्बीले हरिशयनी एकादशीका दिन रोपेको तुलसीको पूजासमेत आजको दिनमा गर्ने चलन छ । अन्य नारायणका मन्दिरमा पनि आजको दिनमा धार्मिक गतिविधि तथा चहलपहल हुने गर्दछ ।