निर्णायकको भूमिका निर्वाह गर्न अर्याल भारत प्रस्थान

निर्णायकको भूमिका निर्वाह गर्न अर्याल भारत प्रस्थान


नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्री तथा अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल भारत प्रस्थान गरेका छन् । मित्रराष्ट्र भारतको लखनउ सहरमा भारतीय ब्याडमिन्टन सङ्घको आयोजनामा हुने एचएसबीसी बीडब्लूएफ वल्र्ड टुर सुपर ३०० सैयद मोदी अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न अर्याल त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणबाट ब्याडमिन्टन प्रतियोगितामा प्रतिनिधित्व गर्ने अम्पायर अर्यालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सफलताका साथ निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

२० देखि २६ नोभेम्बर २०१८ सम्म हुने उक्त प्रतियोगिता भारतको सबैभन्दा ठूलो प्रतियोगिता रहेको अर्यालले जनाएका छन् । प्रतियोगिताको पुरस्कार राशि १ लाख ५० हजार यूएस डलर रहेको छ ।

अर्याललाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट तथा नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमबीच शनिबार बिदाइ गरे ।