नेपाल पुलिसका मन्डेकाजी श्रेष्ठ बाग्लुङमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कप २०१८ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । श्रेष्ठले प्रतियोगिताअन्तर्गत व्यक्तिगत कातामा प्रदेश ५ का दीपराज थापालाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् । तृतीय स्थानमा एपीएफका अनिल चन्द र प्रदेश २ का दीर्घबहादुर लामा रहेका छन् । श्रेष्ठले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । उनले महसुस तामाङ र विनोद गुरुङसँग मिलेर स्वर्ण हात पारेका हुन् ।
यस्तै महिला व्यक्तिगत कातामा नेपाल प्रहरीकी चञ्चला दनुवारले एपीएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भइन् । तृतीय स्थानमा बाग्लुङकी शर्मिला श्रेष्ठ र प्रदेश ५ की रश्मी पाण्डे रहे । यसैगरी टिम कातातर्फ पुरुष र महिला दुवैतर्फ नेपाल पुलिसले स्वर्ण हात पारेको छ । पुरुषतर्फ दोस्रो स्थानमा प्रदेश १ तथा तेस्रो स्थानमा प्रदेश ७ र ५ रहे । महिलातर्फ प्रदेश ६ ले रजत पाए । एपीएफ र प्रदेश ५ ले कास्य पाए ।
७ प्रदेश र ३ विभागीय टिम गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपीएफकी जिया कार्कीले बाजी मारिन् । उनले पुलिसकी बुद्धलक्ष्मी तामाङलाई पराजित गर्दै स्वर्ण पाएकी हुन् । प्रदेश ५ की रश्मी पाण्डे र प्रदेश १ की रञ्जना मगरले कास्य पाए । यस्तै, पुरुषको ५० केजीमा पुलिसका सोनाम लामाले स्वर्ण पाए । प्रदेश १ का मोहन यादवले रजत तथा प्रदेश ६ का सरोज पासवान र आयोजकका अंकित गुरुङले कास्यमा चित्त बुझाए ।
प्रतिक्रिया