तेक्वान्दोकर्मी जीवन सम्मानित

तेक्वान्दोकर्मी जीवन सम्मानित


विगत १५ वर्षदेखि नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्दै आएका तेक्वान्दोकर्मी जीवन लिम्बूलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघले आइतबार सम्मान गरेको छ । लिम्बूलाई राष्ट्रिय खेलकुद परिषद्मा आयोजित एक कार्यक्रममा राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेका हुन् । यस्तै, संघले नवनियुक्त राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनालाई समेत पूर्ण कार्यकालको लागि शुभकामना दिँदै स्वागत गरेको थियो ।

‘हङकङमा रहेर पनि नेपाली तेक्वान्दो खेलको विकासमा तपाईंले खेल्नुभएको भूमिकाप्रति संघ कदर गर्दै यो सम्मानपत्र प्रदान गर्दछौँ,’ संघका अध्यक्ष महेश नेवाः र उपाध्यक्ष स्वयम्भूराज डंगोलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

कार्यक्रममा खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश, उपाध्यक्षद्वय मनोज खड्गी र स्वयम्भूराजले पनि जीवनलाई सम्मान गरेका थिए । कार्यक्रमममा जीवनले सम्मानले आफूलाई नेपाली तेक्वान्दोका लागि थप काम गर्न ऊर्जा मिलेका बताए । संघले पूर्वखेलाडी र प्रशिक्षकले देशका लागि दिएको योगदानको कदर गर्न सदैव लागिपर्ने जनाएको छ ।