अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्जीको हत्याको श्रव्य टेप आफूले नसुन्ने बताएका छन् । त्यो श्रव्य सामग्री निकै ‘पीडादायी र हिंसात्मक’ भएको ट्रम्पले बताएका छन् ।
साउदी अरेबिया सरकारका कटु आलोचक अर्थात् अमेरिकी पत्रिका ‘द वासिङ्टन पोस्ट’का स्तम्भ लेखक खसोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।
पीडादायी र हिंसात्मक भएको यस टेपको पूरा विवरण आफूलाई प्राप्त भएको ट्रम्पले अमेरिकी टेलिभिजन ‘फक्स न्यूज’लाई दिएको एक अन्तर्वार्तामा बताएका छन् ।
प्रत्यक्ष रूपमा सो टेप नसुने तापनि आफूलाई पूरा विवरण प्राप्त भएको उनले बताएका छन् । आगामी दुई दिनमा ट्रम्प प्रशासनले पूरा प्रतिवेदन दिने अर्थात् हत्यामा कसैको प्रत्यक्ष सहभागिता रहेको सो प्रस्ट गरिने ट्रम्पले शनिबार बताएका थिए । अहिलेसम्म अपुष्ट समाचारहरू प्राप्त गरेको पनि उनले बताए ।
साउदी पत्रकार खसोग्जीको हत्याको विषयमा अमेरिकी अनुसन्धानका विवरणहरू बाहिर आइरहेका छन् । अमेरिकी गुप्तचर निकाय सीआईएको निष्कर्षमा पत्रकार खसोग्जीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमान आफैँले दिएका थिए भन्ने विवरण बाहिर आइसकेको छ ।
तर, ट्रम्पले ती विवरणहरू अपुष्ट भएको बताउँदै आफ्नो देशको एक प्रमुख मित्र साउदी अरेबियालाई गुमाउने पक्षमा नरहेको स्पष्ट गरे । साउदी अरेबियाले खसोग्जीको हत्यामा आफ्ना युवराजको कुनै भूमिका नरहेको बताउँदै आएको छ ।
खसोग्जी एक चर्चित पत्रकार थिए । उनले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखेका थिए ।
दशकौँसम्म खसोग्जी साउदी राजपरिवारको निकट रहेको र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरेका थिए । तर, पछि उनले राजपरिवारको विश्वास गुमाएका थिए । उनी गत वर्षउनी अमेरिकामा निर्वासनमा गएका थिए ।
प्रतिक्रिया