अस्ट्रेलियामा आतङ्कवादी आक्रमणको योजना बनाउने तीन जना पक्राउ

अस्ट्रेलियामा आतङ्कवादी आक्रमणको योजना बनाउने तीन जना पक्राउ


अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्नमा जथाभावी छुरा प्रहार गरी दुई जनाको हत्या भएको दुई साता नबित्दै पछिल्लो घटना सार्वजनिक भएको हो ।

पक्राउ परेकामा टर्केली मूलका अस्ट्रेलियाली रहेका छन् । मेलबोर्नको भिडभाड इलाकामा आक्रमण गर्ने योजना बनाइरहेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको प्रहरीलाई उद्धृत गर्दै एएपपीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरु इस्लामिक स्टेट समूहबाट प्रभावित रहेको पाइएको तर उनीहरु कुन समूहमा आबद्ध छन् भन्ने अझै नखुलेको बताएको छ ।

बताइएअनुसार गत मार्चदेखि नै ती तीन व्यक्ति प्रहरीको निगरानीमा रहेका थिए, तर नोभेम्बर ९ मा मेलबोर्न आक्रमणपश्चात उनीहरु अझ बढी सक्रिय रहेको पाइएको थियो ।

हाल परिचय नखुलाइएका उनीहरु ३०, २६ र २१ वर्षका छन् । उनीहरुमाथि यसअघि कुनै किसिमको फौजदारी अभियोग थिएन, तर उनीहरुलाई विदेश जान नपाउने गरी पासपोर्ट रद्द गरिएको थियो, प्रहरीले जनाएको छ ।

समयमै पक्राउ गर्न नसकेको भए जनधनको ठूलै क्षति हुने सम्भावना रहेको अष्ट्रेलियाली सङ्घीय प्रहरी प्रवक्ता इयान म्याककार्टनीले बताएका छन् । पक्राउ परेका व्यक्तिहरुले आक्रमणका लागि अर्ध–स्वचालित राइफलहरु सङ्कलनको प्रयास गरेको उनले जानकारी दिएका छन् ।