राजधानीमै शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा

राजधानीमै शिक्षक माग्दै विद्यार्थी आन्दोलनमा


काठमाडौंको थलीस्थित कान्तिपुर क्याम्पसमा विषयगत शिक्षकको माग राख्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।

वार्षिक उत्सव कार्यक्रममा क्याम्पसको शैक्षिक अवस्था दिनानुदिन खस्किँदै गएको, विषयअनुसारको शिक्षक नभएको तथा समयमा शिक्षक कक्षामा नआउने भन्दै ११, १२ कक्षासहित स्नातक तहका विद्यार्थी आन्दोलनमा उत्रेका हुन् ।

क्याम्पसका स्ववियु सभापति पल बज्राचार्यले विद्यार्थीको भविष्यमाथि खेलबाड भएको भन्दै स्रोतसाधनका साथै विषयगत शिक्षकको माग गरिएको हो बताए । प्रशासनमा आर्थिक पारदर्शिता नभएकैले विद्यार्थीलाई चाहिने स्रोतसाधन जुटाउन नसकेको भन्दै विद्यार्थी युनियनको नेतृत्वमा क्याम्पसको प्रशासन सुधार्न र शैक्षिक गुणस्तर बढाउन माग गरेको उनको भनाइ छ ।

करिब चार सय विद्यार्थी रहेको सो क्याम्पसमा विषयगत शिक्षक नहुँदा पठनपाठनमा अवरोध पुगेको विद्यार्थीको गुनासो छ । कक्षा १२ मा अध्ययनरत निशा गहतराज भन्छिन्, ‘कक्षा ११ मा हामीले पत्रकारिता विषयको एक पृष्ठ पनि पढाउने शिक्षक पाएनौँ, बिनाशिक्षक अहिले पनि १२ कक्षा पढिरहेका छौँ, के बुझेर परीक्षा दिने आफैँ अन्योलमा छाँै ।’

विरोध कार्यक्रममा पुगेका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुमन पाण्डेले विद्यार्थीको गुनासोबारे क्याम्पसलाई ध्यानाकर्षण गराउँदै जायज माग पूरा गर्न प्रशासनलाई आग्रह गरे । तत्कालै विद्यार्थीका समस्या हल गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने क्याम्पस प्रमुख शैलेन्द्रप्रसाद कुइँकेलले बताए ।