अबको गन्तव्य विकास नै हो : उर्जामन्त्री पुन

अबको गन्तव्य विकास नै हो : उर्जामन्त्री पुन


उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि भएको बताएका छन् । स्क्यापको २८ औ वार्षिक उत्सव कार्यक्रममा मंगलबार बोल्दै मन्त्री पुनले अवको गन्तव्य नै विकास भएको दोहो¥याए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए । ‘प्रधानमन्त्रीले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होईन् ।’ उनले भने, ‘हामीले यो विचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौ, छिट्टै देखिने गरी अरु काम हुन्छ ।’

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले आफुहरु राज्यको शासन गर्ने तरीका नै बदल्ने गरी काम गरिरहेको दावी गरे । विगतमा सरकार अस्थिर हुँदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धिका लागि जाने बताए । उनले वर्तमान सरकार पाँच वर्षका लागि चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा राखे ।

मन्त्री पुनले विगतका सरकारले मुलुकमा विकासको जग बसाल्न नसकेको प्रसंंग उल्लेख गर्दै वर्तमान सरकारले विकासको जग बसाल्न खोजेको दावी गरे । कार्यक्रममा उनले उर्जा मन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठुला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।