गँजडी श्री ३ लाई आफूप्रतिको जिज्ञाशा !

गँजडी श्री ३ लाई आफूप्रतिको जिज्ञाशा !


श्री ३ रणोद्वीपसिंह लहडी पनि थिए । यिनले सधैँ रोजै गाँजा तान्ने गर्दथे । निजलाई स्व. श्री ३ जंगकी श्यामा रानीतर्फका छोरा कर्णेल ललितजंगले रोजै गाँजा मलिदिनुपर्दथ्यो । एक दिन गाँजाको मस्तीमा रणोद्वीपसिंहले ललितजंगसँग– ‘मलाई जनताले के भन्दछन् ?’ भनी प्रश्न गरे । ललितजंगले पनि त्यस समयको चालढालको साथै धीरशमशेरको र उनका छोराहरूको शानशौकत र तिनका चाल–माल देखेर शायद गडबडै हुने आसय देखी–बुझी तुरुन्त ‘महाराजलाई जनताले खोरभित्रको भुनी (पोथी बँदेल) भन्छन्’ भनी जवाफ दिए ।

ललितजंगको भनाइको तात्पर्य खोरभित्रको बँदेललाई जहिले, जसले पनि हत्या गर्न सक्तछ भन्ने हो । उपर्युक्त जवाफ सुनी– ‘तैँले मलाई खोरभित्रको भनी भन्ने’ भनी गाँजाको मस्तीमा ललितजंगलाई लात्तैलात्ताले खुब गोदे । तर, भोलिपल्ट ललितजंगलाई आफूले खुब गोदेको– ‘कुट–पिट गरेको’ स्मरण गरी निजलाई खुसी पार्न ‘मेजर जनरल’को पद दिए ।

वि.सं. १९३९ वैशाख, तदनुसार सन् १८८२ मा धीरशमशेरले रानीपोखरी उत्तर–पूर्वतर्फ ‘संस्कृत पाठशाला र पाकशाला’ राखे । सो संस्कृत पाठशालामा नौजवान योग्य पण्डितहरूको व्यवस्था गरी चौवन्न जवान विद्यार्थीलाई निःशुल्क विद्या अध्ययन गर्न पाउने र पण्डितहरूलाई राम्रो तलबसमेत दिने व्यवस्था गरे । त्यस समय कतिपय पण्डितहरूले रुपैयाँ–पैसा लिई हामी विद्यादान गर्दैनौँ भनी निःशुल्क विद्यादान (पढाउने) गर्न थाले । पाठशालामा ती पण्डित र विद्यार्थीलाई दुई छाक निःशुल्क खाना खान पाउने, साथै रहन–बस्नको निमित्त राडी–पाखी, बिछ्यौना, सिरक, दोलाईं, खटियाको साथै लगाउनको निमित्त वर्षको दुई जोर लुगा, खाना पकाउने भाँडाकुँडा, रसद आदि सम्पूर्ण कुरासमेतको व्यवस्था मिलाई ‘गुठी’समेत राखे ।

वि.सं. १९३९ चैत ३० गते तदनुसार अप्रिल १८८२ ई. का दिन चीन सम्राट्को तर्फबाट करिब साठी जवान चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आइपुगे । चिनियाँ प्रतिनिधिहरूको इज्जतका साथ खातिरदारी गरियो । वि.सं. १९४० वैशाख, तदनुसार मे १८८२ ई. का दिन चिनियाँ प्रतिनिधिले श्री ३ महाराज रणद्वीपसिंहलाई चीन सम्राट्को तर्फबाट प्रदान गरिएको चिनियाँ सवाच्च उपाधि– ‘थोङ–लिन्–पिम्मा–कोकाङ–स्यान्’ (Thong-Lin-Pimma-Kokang-Wang-Syan) बाट विभूषित गरे ।

(श्री ३ हरूको तथ्य वृत्तान्त)