म्याग्दीका ४५ वटै वडामा हेलिप्याड निर्माणको तयारी

म्याग्दीका ४५ वटै वडामा हेलिप्याड निर्माणको तयारी


म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलिप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपतकालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलिप्याड निर्माण अभियान शुरु गरेको हो ।

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । पाखापानीमा गाउँपालिका र वडाको समन्वयमा हेलिप्याड निर्माण गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थानीय तहसँग समन्वय गरेर जिल्लामा रहेका ४५ वटै वडामा हेलिप्याड निर्माणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । हेलिप्याड निर्माण भएपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपतमा राहत उपलब्ध गराउन सहयोग पुग्ने प्रजिअ अधिकारीको भनाइ थियो ।

म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँको प्राकृतिक सौन्दर्यमा रमाउन र हिमाल आरोहण गर्न आउने पर्यटकलाई पनि सुविधा पुग्ने स्थानीयले बताएका छन् । नदी कटान, भूक्षय र बाढीपहिरोको जोखिम पनि रहेको यस जिल्लामा तत्काल उद्धार र राहतका लागि हेलिप्याड सशक्त माध्यम बन्ने सरोकारवालाको भनाइ रहेको छ ।