शान्ति समाजको २१औँ परिषद् बैठक विराटनगरमा हुने

शान्ति समाजको २१औँ परिषद् बैठक विराटनगरमा हुने


मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानवअधिकार तथा शान्ति समाजको २१औँ राष्ट्रिय परिषद् बैठक मंसिर १४ र १५ गते विराटनगरमा हुने भएको छ । ‘जगतमुखी, जीवनमुखी, सेवामुखी उद्देश्य’ भन्ने मूल नारासहित आयोजना हुने राष्ट्रिय परिषद् बैठकलाई सफल बनाउन मूल तयारी समितिसहित उपसमिति गठन गरिएको छ ।

बैठकलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापा, नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले सम्बोधन गर्ने कार्यक्रम छ । परिषद् बैठकमा ५० भन्दा बढी जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी तीन सयभन्दा बढीको सहभागिता रहने समाजले जनाएको छ ।

मंसिर १४ गते दिउँसो १ बजे विराटनगरमा बृहत् शान्ति ऱ्याली गरिने जनाइएको छ । मंसिर १५ गते साँझ ६ बजे विराटनगरमा शान्ति काव्य प्रवाह पनि आयोजना हुनेछ । परिषद् बैठककै अवसरमा विराटनगरका एक दर्जनभन्दा बढी विद्यालयमा ‘शान्ति हाम्रो अधिकार’ शीर्षकमा अन्तरक्रिया, वातावरणीय चेतना र वृक्षरोपण कार्यक्रम पनि हुनेछ ।

राष्ट्रिय परिषद् बैठकमा मानवअधिकार रक्षकको सुरक्षा, संक्रमणकालीन न्यायप्रक्रिया, महिला र बालबालिकाको विशेष सुरक्षालगायतका विषयमा केन्द्रित रही आठ प्रस्तावमा छलफल हुनेछ । मंसिर १५ गते शान्ति समाजको केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ ।