इन्टरपोल प्रमुखमा रुसी उम्मेदवार अस्वीकार्य : अमेरिका

इन्टरपोल प्रमुखमा रुसी उम्मेदवार अस्वीकार्य : अमेरिका


रुसविरोधी केही आलोचकहरूले इन्टरपोल प्रमुखमा रुसी उम्मेदवारलाई नछान्न आग्रह गरेका छन् ।

प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल (इन्टरपोल) मा रुसी नेतृत्व आएमा मस्कोले राजनीतिक रूपमा आफ्ना प्रतिस्पर्धी मानिएका मुलुकविरुद्ध उक्त संगठनको प्रयोग हुन सक्ने भन्दै अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुकलगायतका कतिपय आलोचकले रुसी नेतृत्वलाई नस्वीकार्न अभियान चलाएको बताइएको छ ।

यता रुसले भने इन्टरपोलमा ‘हस्तक्षेप’ गर्ने हंगामा मच्चाएर बुधबार दुबईमा हुन लागेको मतदानलाई रुसी उम्मेदवारविरुद्ध प्रचार गरिएकोप्रति दुःख व्यक्त गरेको छ ।

क्रेमलिनको नजरमा दोषी ठहरिएका कतिपय व्यक्तिलाई इन्टरपोलमार्फत ‘रेड नोटिस’ अथवा अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गरी संगठनको प्रतिष्ठाविपरीत काम हुन सक्ने भन्दै कतिपय सञ्चारमाध्यमले नै रुसविरोधी अभिमत जारी गरेको क्रेमलिनको दाबी छ । क्रेमलिनले यसलाई अमेरिकाले आफ्नो उम्मेदवारविरोधी अफबाह फैलाउन खोजेको आरोप लगाएको छ ।

रुसी गृह मन्त्रालयका अधिकारी तथा इन्टरपोलका वर्तमान उपप्रमुख अलेक्जेन्डर प्रोकोप्चुक उक्त पदका लागि सम्भावित प्रिय पात्र रहेका छन् । अमेरिकाका दुवै दलआबद्ध सिनेटरहरूको समूहले यसै हप्ता एउटा खुला पत्र लेख्दै प्रोकोप्चुकलाई इन्टरपोल प्रमुख बनाउनु भनेको ‘फ्याउरोलाई कुखुराको इन्चार्ज’ बनाउनुसरह हुने बताएका थिए ।

रुसले निरन्तर रूपमा इन्टरपोलको दुरुपयोग गर्दै आफ्ना राजनीतिक प्रतिद्वन्द्वी, पत्रकार तथा समूहमाथि विजयको यात्रा तय गर्दै आएको उनीहरूले बताएका थिए । उनीहरूले उक्त रणनीतिमा प्रोकोप्चुक आफँै सहभागी हुने गरेकोसमेत आरोप छ ।

इन्टरपोलका प्रतिनिधिहरूले सेप्टेम्बरमा चीनमा पुगेका समय बेपत्ता भएका भनिएका चिनियाँ मेङ होङवेईको स्थानमा नयाँ नेतृत्व चयन गर्नेछ । बेइजिङले होङवेईले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएको बताएपछि हुने उक्त मतदानमा दक्षिण कोरियाली नागरिक तथा इन्टरपोलका कार्यबाहक प्रमुख किम जोङ–याङले रुसी उम्मेदवारको सामना गर्नुपर्ने एएफपीले जनाएको छ ।