कामनपाका ब्रुमर आउन अझै दुई महिना लाग्ने

कामनपाका ब्रुमर आउन अझै दुई महिना लाग्ने


धुलो सफा गर्न काठमाडौं महानगरपालिकाको यही मंसिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महिना लम्बिएको छ ।

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको भए पनि केही प्रक्रिया बाँकी रहेकाले फागुनको पहिलो सातादेखि मात्र उक्त यन्त्रको प्रयोग गर्न सकिने कामपाले जनाएको छ ।

इटलीबाट ल्याइने उक्त यन्त्र खरिद गरिसकेको भए पनि ल्याउन केही प्रक्रिया बाँकी रहेकाले अझै दुई महिना लाग्ने कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन् । राससका अनुसार कामपाले रु. १२ करोड मूल्यबराबरको पाँचवटा यन्त्र ल्याउने तयारी गरेको हो ।

हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्यांकरको पानीले सडक सफा गरिरहेको छ । महानगरको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीमा दैनिक धुलो सफा गर्ने र पानीले पखाल्ने काम गरिरहेको छ ।

महानगरले शहर सफा गर्न गत भदौको अन्तिम सातादेखि पाँचवटा ठूला यन्त्र प्रयोगमा ल्याइसकेको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर कामपाले ती यन्त्र प्रयोगमा ल्याएको थियो ।