गाउँगाउँ बाटो पुगेपछि जुम्ली घोडाको व्यापारमा ह्रास

गाउँगाउँ बाटो पुगेपछि जुम्ली घोडाको व्यापारमा ह्रास


एक महिना लगाएर जुम्लाबाट दार्चुलाको जौलजीवी मेलामा ल्याइएका जुम्ली घोडाको व्यापार घटेको छ । दशैँ टीका लगाएर जुम्लाबाट हिँडेका घोडा व्यापारी जौलजीवी पुगेपछि घोडा खरिद गर्ने ग्राहक नआउँदा निराश छन् ।

विगतमा सयौँ घोडाको व्यापार हुँदै आएको जौलजीवी मेलामा गाउँगाउँसम्म सडक पहुँच पुग्नु तथा युवामा घोडाप्रति आकर्षण हुन नसक्दा हरेक वर्ष घोडाको व्यापार घटेको हो ।

जौलजीवी मेलाको आकर्षणको रूपमा घोडाको कारोबार यस वर्ष भएको छैन । हरेक वर्ष जुम्ला र बाजुराबाट जौलजीवी मेलामा घोडाको कारोबार हुने गरेको छ । जुम्ला र बाजुरा जिल्लाबाट मेलामा पु¥याइएका घोडा विगतमा पहाडी जिल्लामा राम्रो व्यापार हुँदै आएको थियो, चन्दननाथ नगरपालिका–८ जुम्लाका घोडा व्यापारी जयबहादुर रोकायाले भने, ‘पहाडसम्मै गाडी पुग्नु, हरेक वस्तुको महँगाइ बढेको कारण घोडा व्यापार सुस्ताएको छ ।’ यसपटक जुम्ला र बाजुराबाट तीन दर्जनभन्दा बढी घोडा मेलामा पु¥याइएको छ ।

एक महिना लगाएर घोडा बिक्री गर्न आए पनि अहिलेसम्म तीन चारजना भारत अल्मोडाका स्थानीय घोडा हेर्न मात्रै पुगेका छन् । जुकोट–३ बाजुराका सत्यराज शाही घोडाको कारोबार नभएकोमा चिन्तित छन् । ‘हाम्रा बाजेबुबाको समयदेखि जौलजीवी मेलामा घोडा व्यापार गर्न शुरु गरेका हौँ । जौलजीवी मेलामा मात्रै विगतमा ५०६ घोडाको व्यापार सजिलै हुन्थ्यो,’ उनले भने, ‘तर, दुई–चार वर्षयता घोडाको व्यापार कम हुँदै आएको छ ।’

‘बाटोमा घोडाका लागि चाहिने दाना, घाँस महँगो हुँदै गएको छ । गत विगतसम्म रु. १० पुला घाँस घोडाको लागि पाइन्थ्यो, अहिले ५० भारु पर्छ । सबैमा महँगी बढ्यो, तर हाम्रो घोडाको ३५ हजार भारुमा बिक्री पनि हुँदैन । यो मूल्य नै बढी भयो भन्छन्,’ शाहीले भने, ‘लागत मूल्य नै नआएपछि कसरी घोडाको कारोबार गर्नु । जौलजीवीको मेला घोडेमेलाको रूपमा पनि जुम्ली घोडाले चिनाएको हो ।’

बाजुराकै ६४ वर्षीय भरतबहादुर शाहीले दार्चुलाको जौलजीवी मेलामा घोडाको व्यापार गरेको ४० वर्षभन्दा बढी भयो । उनले भने, ‘हाम्रा बाजेबुबाले घोडाको व्यापार गर्न सिकाए । हाम्रो पुस्तासम्मले परम्परागत घोडा व्यापार छोडेका छैनाँै, तर यस्तै व्यापार सुस्तायो भने आगामी वर्षदेखि घोडा व्यापारको लागि दार्चुला आइँदैन ।’

‘हुम्ला–जुम्लामै रु. डेढ–दुई लाखमा घोडा बिक्री हुन्छ, तर यहाँ आएपछि ३० देखि ४० हजार भारुमा पनि बिक्री हुन मुस्किल भयो,’ उनले भने । ‘बाटोभरि घाँस–दानाको महँगी भयो, घोडा राख्ने ठाउँमा स्थानीयले भाडा बढाए । यस्तो अवस्थामा परम्परा धान्न सकिँदैन,’ उनी भन्छन् ।

जुम्ली घोडा नेपाल–भारतका पहाडी क्षेत्रका स्थानीयले खरिद गरेर लिने गरेका थिए । अहिले सडक पहँुच पुगेसँगै कारोबार पनि कमी भएको हुन सक्ने शाही बताउँछन् । उनी भन्छन्, ‘पहिले गाउँमा सडक नपुगेको बेला घोडा किन्न ग्राहकको भिड लाग्थ्यो । तँछाडमछाड नै चल्थ्यो, घोडा हेर्न, मूल्य पनि राम्रै पाइन्थ्यो, तर अहिले घोडा पु¥याइसक्याँै, कोही आउँदैनन् ।’

जुम्ली घोडा पहाडी क्षेत्रमा समान ढुवानी र चढ्नका लागि राम्रो मानिन्छ । ‘अन्यभन्दा पनि चिसो ठाउँमा हुर्केका घोडा पहाडी क्षेत्रमा बचाउन सकिन्छ,’ भारत अल्मोडा चौखिट्टाका स्थानीय हिक्मत सिंहले भने, ‘घोडा खरिद गर्नका लागि आएका हाँै, तर अहिले घोडाको मूल्य धेरै बढ्यो ।’

उनी भन्छन्, ‘अल्मोडाको उच्च पहाडी क्षेत्रका लागि जुम्ली घोडा राम्रो हुने गरेकाले यहाँ आएका हौँ । विगतमा यही क्षेत्रमा आएर लगेका घोडा राम्रा छन् । घोडा लिन भारतीय बजार जौलजीवीसम्म ट्रक ल्याएरै आएका छाँै, तर मूल्य बढी छ । एक–दुई दिन हेर्छौँ मूल्य मिल्यो भने घरको लागि घोडा लिन्छाँै ।’

‘पहाड चढ्नको लागि भारतको हल्दानीमा पाइने घोडाभन्दा जुम्ली घोडा राम्रो छ,’ अर्का भारतीय नागरिक कैलाश जोशीले भने, ‘घोडाको आयु मान्छेकै जस्तै हो । जीवनमा एउटा घोडाको सहारा बनाऊँ भनेर आएका छौँ । पहिलो १५–२० हजार भारुमा घोडा सजिलै मिल्थ्यो, तर व्यापारीले महँगो मूल्य भन्दै छन् ।’

मालिकार्जुन गाउँपालिका–७ उकु जौलजीवीका स्थानीय शेरसिंह खत्री विगतको तुलनामा घोडाको व्यापार नभएको बताउँछन् । उनी भन्छन्, ‘हरेक वर्ष मेरो जमिनमा घोडा राखेर व्यापार गर्छन् । पहिले ५०६ घोडा यहाँ आउँथे । पूरै बगरमा घोडाले भरिन्थ्यो, अहिले हेर्नुस् केही छैन । घोडा खरिद गर्ने मान्छे छैनन् । सडक पुग्यो, गाडी मोटर साइकल किन्नतिर मान्छे लागे ।’

१० वर्षअघिसम्म घोडाप्रति स्थानीयको आकर्षण थियो । बूढापाका अहिले पनि घोडामा सोखिन हुन्छन्, तर युवा पुस्तामा घोडा प्रतिमोह छैन । जसको कारण पनि घोडाको व्यापार कमी आएको उनको भनाइ छ ।
रासस