बुद्धजन्मस्थल पञ्चशील क्षेत्र घोषणा

बुद्धजन्मस्थल पञ्चशील क्षेत्र घोषणा


गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका हुन् ।

‘लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र ‘हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइनेछैन,’ पञ्चशील क्षेत्र घोषणा गर्दै मन्त्री अधिकारीले भने, ‘बुद्धभूमि शान्त र सुन्दर छ, भनेर विश्वमाझ सन्देश दिन यो क्षेत्रमा पञ्चशीलको पालना जरुरी छ ।’

मन्त्री अधिकारीले कार्यक्रम घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै व्यावहारिक कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । लुम्बिनी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताउँदै उनले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी गरे ।

बुद्ध धर्मअनुसार हत्या, हिंसा, चोेरी, व्यभिचार र मदिरापान नगरेमा पञ्चशील पालना गरेको मानिन्छ

‘गुरुयोजना पूरा गर्न ६ अर्बभन्दा बढी रकम लाग्छ, यसका लागि दाता खोजेर भए पनि पूरा गर्छौँ,’ उनले भने, ‘यो पूरा भए मेरो जीवनको अर्थ रहन्छ ।’

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्धधर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताए ।

उनले पञ्चशीलको पालनाले हिंसाको अन्त्य भई समाज सुधार हुने बताए । ‘बुद्धको जन्मभूमि अत्यन्तै पवित्र भूमि हो, यहाँ हिंसा हुनु अशोभनीय हुन्छ,’ उनले भने, ‘हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापानमा रोक लगाउँदा लुम्बिनीको गरिमा बढ्छ ।’

कार्यक्रममा प्रदेश ५ का सांसद फकरुद्दिन खानले प्रारम्भिक तयारी र छलफलबिना पञ्चशील घोषणा कार्यक्रम गरिएको भन्दै हतारमा गरिएको घोषण प्रभावकारी हुनेमा शंका व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, भिक्षुमैत्री महास्थवीर, लुम्बिनी विकास कोषका सहायक सूचना अधिकृत राजन बस्नेत, स्थानीय अजीज खाँनलगायतले लुम्बिनी क्षेत्रमा पञ्चशीलको पालना जरुरी रहेको बताए । बुद्ध धर्मअनुसार हत्या, हिंसा, चोेरी, व्यभिचार र मदिरापान नगरेमा पञ्चशील पालना गरेको मानिन्छ ।