नेपाल बक्सिङ संघको आयोजनामा प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले गरेका थिए ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको यू–१९ को ४९ केजी तौल समूहमा उद्घाटन खेलमा रोल्पाका शेखर पुरीले कास्कीका दीपु कार्कीलाई पराजित गरेका थिए । ४९ केजी तौल समूहमै दाङका सुरज ओलीले अल्फाका सुजल पुनमगरलाई अंकका आधारमा हराए ।
त्यस्तै, ५२ केजी तौल समूहमा नक्सालका विजेन्द्रप्रताप शाहले अल्फाका भियोजित पुनमगरलाई अंकका आधारमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । ५२ केजी तौल समूहमा यानब थुलुङ राईले एलेन बाडगामीलाई, निर्मल सुवेदीले यमन श्रेष्ठलाई, अमर गुरुङले लक्ष्मण राईलाई, रोहन माल्कीले वेदबहादुर ओलीलाई र समीर चौधरीले सागर मल्ललाई पराजित गरे ।
प्रतियोगिता मंसिर ८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा यू– १९ महिलातर्फ ४८, ५१, ५४, ५७ र ६० केजीका तौल समूह समावेश गरिएको छ । त्यस्तै पुरुषतर्फ ४९, ५२, ५६, ६० र ६४ तौलमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै यू–१९ देखि २४ मुनिको महिलामा ४८, ५१, ५४, ५७, ६० र ६४ केजीका तौल समूह समावेश गरिएको छ । पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुनेछन् ।
उद्घाटनका अवसरमा राखेप उपाध्यक्ष पीताम्बर तिमिल्सिना, सदस्य अर्जुनबहादुर केसी, संघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया