इन्द्रेणी

इन्द्रेणी


indreniखैंजडीहरू– रामेश्वर राउत ‘मातृदास’
यो फोस्लोङे युग
डुकुलण्ठक छन् उर्वर जिन्दगीहरू
न आँखामा हाँसो छ,
न गतिशीलता गाँस्न सक्छन् नदीहरू !
।।१।।
यी तुहिएका सपनाहरूले
तगारो लगाइरहेका छन् बिहानीलाई
रातमा जून आउन लाज मान्छे,
घाम पग्लेर हिमालहरू विध्वङ्स चुहिरहेका छन्
जिन्दगी बाँदरको पुच्छरजस्तै
न लौरो न हतियार भयौँ ए ऽ पराक्रमी परमवीर !
समयले आफ्नै गौरवलाई
निर्ममतापूर्वक सिस्नो लगाइरहेको बीभत्स दृश्य छ,
कुन कुकर्मको फल हो यो वीर हो ?
समुद्रहरू घनघोर अन्याय र अपमानको
भारी बोकेर उर्लिरहेका छन् घरिघरि
।।२।।
प्रयोजनहीन घामट घोचाहरूलाई सधैं सलाम ठोक्ने
यी लाटाबुङ्गा बुख्याँचाहरूले आँखा खोलिदिए
झलमलाइरहन सक्थे घाम÷जूनहरू,
र, सबैको सौहार्द सर्वोदयका लागि
सौभाग्यशाली हुन्थे हाम्रा हिमालयहरू !
।।३।।
कहिल्यै जागरण धून ब्युँझिएनन्
बूढीभैंसीका बासी म:म: ओल्सिरहेका यी बस्तीहरू
ग्वारग्वार्ती हुँडारका बथानहरू पसेर
स्वालस्वाल्ती आफ्नै भाग्य र भविष्य निलेको हेरिरहन्छन्
र, परचक्रीको ज्याला नाचिरहेका छन् यी खैंजडीहरू !
।।४।।
आखिर यी खैंजडीहरू
न झोमोलोङ्मा बुझ्न सक्छन्
र, न कहिल्यै आफ्ना यशस्वी पूर्वजहरूको दिग्विजयी पाइला चिन्न सक्छन्,
खैंजडीहरू कहिले मुन्धुम त्रिपिट च्यात्छन्
कहिले वेद र गीताका अमूल्य ज्ञानलाई
सत्तोसराप गरेर
तीन त्रिलोक चौधैभूवन जितेको ध्वाँस छाड्छन्
यी निष्पट्ट अन्धकार वृत्तासुरहरू !
ए ऽ अदम्य अजेय अमोघ !
पूरै आकाश सिङ्गै धरती महानताको पौरख यो
हरेक रात÷प्रत्येक दिन,
कहिल्यै रुन हुन्न घाम÷जुन हो !

म नेपाली वीर– जयानन्द जोशी ‘परम्हंस’

यी चन्द्रसूर्य अङ्कित
ध्वजा उचाली हातमा ।
अगाडि लम्की राख्छु म
अखण्ड मातृ थातमा ।।

तिनै ती वीर पूर्वज
चल्या सुमार्गमै चली ।
यी हातले सिँगार्दछु
बचाई राष्ट्रको थली ।।

फुकेर शान्तिको विगुल
चली स्वदेश चाल त्यो ।
सधैँ÷सधैँ हँसाउँछु
हिमाल–शैल–माल यो ।।

अदम्य उच्च साहसी
प्रभूत शक्तिशाली हुँ ।
निपुण छु शत्रु ढाल्नमै
तबै त म नेपाली हुँ ।।

स्वतन्त्र सार्वभौम औ
विवेकशील धीर हुँ ।
न थाक्छु मै न झुक्छु मै
म त्यो नेपाली वीर हुँ ।।