एक लाख २० हजारमा बिक्री भइन् मीनालिसा

एक लाख २० हजारमा बिक्री भइन् मीनालिसा


विश्वप्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको चित्र आज पनि विश्वमा चर्चित चित्रमध्ये पर्छ । मन्द मुस्कानकी मोनालिसा आज पनि भिन्चीका चित्रमा जीवन्त छिन् । मोनालिसाको आँखा मुस्कुराएको हो वा ओठको हाँसो, त्यो अझै पनि कला जगतमा खोजीकै विषय छ ।

त्यत्तिकै सुन्दर दोस्री मोनालिसा बनाउने कलाकार अझै जन्मन सकेका छैनन् । काठमाडौंस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भने यतिबेला नेपाली मूलकी मीनालिसा चित्रमा मुस्कुराइरहेकी भेट्न सकिन्छ । कलाकार टुल्कु जेम्याङले चित्रमा मोनालिसाको अनुहारलाई आधार मानेर नेपालीपन झल्किएकी मीनालिसा उतारेका हुन् ।

‘हातमा मोबाइल लिएर संगीतको धुनसँगै कफीको चुस्कीमा रमाउँदै गरेकी मीनालिसाले अमेरिकन क्याप पहिरेकी छिन्,’ चित्रकार टुल्कुले भने, ‘अहिलेको नेपालीपन यही छ, तर पश्चिमा संस्कृति अपनाउँदैमा आधुनिक भइँदैन, नेपाली संस्कृतिबाट नै मानिस आधुनिक बन्न सक्छ, त्यही देखाउन खोजेको हुँ ।’

कर्केनजर लाएर हिस्सी मुस्कान दिँदै गरेकी नेपाली मीनालिसा टुल्कुको ‘चेन्जिङ लेन्स’ नामक चित्रकला प्रदर्शनीभित्र अटाएकी हुन् । चित्रमा मन्दिर छ, तल गुराँसको फूल छ । ‘जुनसुकै संस्कृति अपनाए पनि आखिर जरो भनेको नेपाली नै हो, यसले यही संकेत गर्छ,’ उनले भने ।

चित्रकारको विशेष कलाकारितामार्फत मीनालिसासँगै १५ चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको पहिलो दिन नै रु. एक लाख २० हजारमा मीनालिसा बिक्री भइन् ।

सल्किँदै गरेको सिन्केधुपबाट नेपाली कागजमा पोलेर सुन्दर चित्र बनाइएको छ । धुपले डढाएको कालो थोप्लासँग एक्रेलिक रङलाई मिसाएर फरक धारको चित्रकारिताको जन्म भएको महसुस कला पारखीले गरे ।

राजधानी शहरलाई केन्द्रमा राखेर बनेको ठूलो चित्र उनको अर्को सुन्दर चित्र हो । पशुपति क्षेत्रको एक छेउमा मुढामा बसेकी महिलासहितको सुन्दर चित्र पनि विदेशी नागरिक जस्टिन जाओले रु. एक लाख २० हजारमा खरिद गरिसके ।

प्रदर्शनीमा राखिएका चित्र रु. ८० हजारदेखि एक लाख २० हजारसम्मका छन् । मीनालिसासहित ‘पहिचान’, ‘कहाँ’, ‘शान्तिभूमि’, ‘फूलको आँखामा फूलै संसार’लगायत यहाँ राखिएका ६ वटा चित्र बिक्री भइसकेका छन् । नेपालको सामाजिक, राजनीतिक, सांस्कृतिक पाटोलाई चित्रकारले चित्रमार्फत दर्शाउन खोजेका छन् ।

सिद्धार्थ आर्ट ग्यालरीको तल्लो तलामा भने गन्धारा बुद्धसहित साधनारत बौद्ध भिक्षुका मनमोहक चित्र प्रदर्शनीमा राखिएको छ । यहाँ राखिएका चित्रको मूल्य रु. ६ लाख ५० हजारसम्मको छ । स्टोन रङमा १८ क्यारेटको सुनको जलपले रंगिएको आकर्षक र सुन्दर छ गन्धारा बुद्ध । दुई वर्ष लगाएर बनाइएको यसको मूल्य रु. ५ लाख ५० हजार राखिएको छ । ‘अफगानिस्तानमा भएको युद्धका बेला एकजना साथीले खिचेर पठाएको बुद्ध हो गन्धारा बुद्ध,’, चित्रकार डेभिड डग्लसले भने, ‘सबै चित्र हेरेपछि शान्तिको महसुस हुन्छ ।’

चित्रकार डग्लस आफँै पनि बौद्ध दर्शनको अध्ययन र ध्यान गर्छन् । जीवनमा ज्ञान र ध्यानको महत्व बुझाउन चित्रबाट प्रयत्न गरेको उनले बताए । बुद्ध नेपालमा जन्मे पनि अफगानिस्तानमा बनेको बुद्ध अहिले अस्तित्वमा नहुन सक्छ, तर नेपालमा चित्रमा भए पनि त्यही बुद्ध नेपाली चित्रकारका रूपमा उनले संग्रहित गरेको चित्र अवलोकन गर्न आएका भिक्षुले निकै प्रशंसा गरे ।

यहाँ कोरियाली, थाई, तिब्बती र नेपाली भिक्षुका चित्र राखिएका छन् । यहाँ भिक्षुहरू दोहो¥याएर चित्र हेर्न आएको डग्लसले बताए । उनका दश चित्र प्रदर्शनीमा छन् । चित्रले शान्तिको सन्देश दिने भन्दै उनले महँगो चित्र बेचेर सामाजिक क्षेत्रमा समेत लगानी गर्ने सोच राखेको बताए । इटालियाली चित्रकार डालीबाट प्रभावित भएका डग्लस साक्षात् देवी मानिने कुमारीको धेरै चित्र बनाएको बताउँछन् ।