‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ शुरु

‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’ शुरु


नेपाली सेनाको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल सङ्घको प्रविधिक सहयोगमा सञ्चालन भएको ‘प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५’को प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित फुटबल मैदानमा एक विशेष समारोहका बीच समुद्घाटन गर्नुभएको छ ।

प्रतियोगितामा विभागीय टिमलगायत प्रथम पटक सात प्रदेशका महिला फुटबल टिमहरु र मित्रराष्ट्र भारतको महिला फुटबल टिम २ गरी जम्मा १२ टिमको सहभागिता रहेको छ । २०७० सालबाट शुरु भएको उक्त प्रतियोगितमा पुरस्कार राशी प्रथमलाई तीन लाख, द्वितियलाई एक लाख पचास हजार र तृतियलाई ५० हजार नगद पुरस्कारका साथै उत्कृष्ट खेलाडीलाई यामाहा कम्पनिको स्कुटर रहेको नेपाली सेनाले जनाएको छ ।

जङ्गी अड्डास्थित खेल मैदानमा प्रदेश नं. १ र प्रदेश नं. ७ बीच भएको खेलमा प्रदेश नं. ७ ले १ को विरुद्ध २ गोल हानी विजयी भएको छ भने सैनिक शारीरिक तालिम केन्द्र लगनखेलस्थित खेल मैदानमा प्रदेश नं. ३ र प्रदेश नं. ४ बीच भएको खेलमा प्रदेश नं. ३ ले १ को विरुद्ध ४ गोल हानी विजयी भएको छ । आज भएको खेलहरुमा प्रदेश नं. ३ की मनिषा थापा मगर र प्रदेश नं. ७ की अञ्जली चन्द प्लेयर अफ दि म्याच घोषित भएका थिए । प्लेयर अफ दि म्याच अञ्जली चन्दलाई प्रधानसेनापति थापाले पुरस्कार प्रदान गर्नुभएको थियो । मंसिर १२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताका सबै खेलहरु नकआउटका आधारमा खेलाइने बताइएको छ ।

बुधबार आयोजित समुद्घाटन कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष, अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतहरु, सञ्चारकर्मीलगायत खेलप्रेमी दर्शकहरुको समेत उपस्थिति रहेको थियो ।