आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः सर्ने संकेत

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः सर्ने संकेत


–श्रीविक्रम भण्डारी
प्रदेश नम्बर ५ को नेपालगन्जमा आयोजना हुने भनिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः सर्ने समाचार प्राप्त भएको छ । राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि निर्माणाधीन भौतिक पूर्वाधारहरू सम्पन्न नभएका कारण आठौँलाई पुनः पछि सार्न लागिएको स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार आठौँ राष्ट्रिय प्रतियोगिता आयोजनाको नयाँ मिति चाँडै तोकिनेछ । उक्त मिति चैतको अन्तिम साता हुन सक्ने स्रोतले जनाएको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषदले मंसिरमा आठौँ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने भनी मिति तोकेको थियो । तर, समयमै भौतिक पूर्वाधारहरूको निर्माण नभएपछि आठौँ राष्ट्रिय प्रतियोगिताको मिति २ महिना पछि सारेको थियो । त्यसपछि राखेपले माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म आठौँको आयोजना गरिने जानकारी गराएको थियो । तर, निश्चित मिति भने गोप्य राख्दै तोकेको थिएन ।

तर, अहिले राखेपले दोस्रोपटक तोकेको समयमा पनि आठौँ राष्ट्रिय प्रतियोगिता नहुने संकेत देखिएको छ । प्राप्त जानकारीअनुसार आठौँ राष्ट्रिय प्रतियोगिताका लागि निर्माण भइरहेका भौतिक पूर्वाधारहरू अहिलेसम्म ६० प्रतिशत मात्रै निर्माण भएका कारण आठौँ पुनः सर्न सक्ने राखेपका एक पदाधिकारीले जनाएका छन् । त्यस्तै उक्त समयमा तराईमा शीतलहर पनि चल्ने भएकोले खेलाडीहरूको प्रदर्शनमा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै आठौँको मिति पुनः सार्न लागिएकोे बुझिएको छ । त्यसको लागि अहिले राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयका पदाधिकारीबीच छलफल भइरहेको छ । छफफलपछि आठौँको आयोजनाको मिति तोकिनेछ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता खेलकुदको मेरुदण्ड भएकोले विगतका राष्ट्रिय प्रतियोगिता जसरी हचुवाको भरमा आठौँ नगरिने खेलकुदका एक पदाधिकारीले बताएका छन् । राष्ट्रिय प्रतियोगिता गरेपछि त्यसले आफ्नो औचित्य पुष्टि गर्नुपर्ने भन्दै हचुवाको भरमा राष्ट्रिय प्रतियोगिताको गर्नुको कुनै अर्थ नहुने ती पदाधिकारीको दाबी थियो यसअघि आयोजना भएका राष्ट्रिय प्रतियोगिताहरू नाम मात्रैका राष्ट्रिय प्रतियोगिता भएका र त्यो खेलकुदको लागि अनुत्पादक भएको बताए । राष्ट्रिय प्रतियोगिता आयोजना गर्नको लागि मात्र नभई राष्ट्रिय हिरो जन्माउने प्रतियोगिता भएकोले त्यसलाई हरेक रूपमा व्यवस्थित रूपमा सञ्चालन गरिनुपर्ने ती पदाधिकारीको धारणा थियो ।

प्राप्त जानकारीअनुसार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) आठौँ राष्ट्रिय माघमा गर्न इच्छुक नभएको बुझिएको छ । पूर्ण रूपमा भौतिक पूर्वाधार निर्माण नभएसम्म आठौँ नगर्ने मन्त्री सुनारको धारणा रहेको मन्त्रालय स्रोतबाट बुझिएको छ । आठौँ राष्ट्रिय देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यो प्रतियोगिताले खेलाडीहरूको भविष्य निर्माणमा अहं भूमिका निभाउने भएकोले व्यवस्थित तरिकाले मात्र आठौँको आयोजना गर्ने अडानमा मन्त्री सुनार रहेको बुझिएको छ ।

यतिबेला आठौँ राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला छनोट प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् । कतिपय खेलका जिल्ला छनोट प्रतियोगिता सकिसकेको अवस्था पनि छ । यस्तो अवस्थामा पुनः राष्ट्रिय प्रतियोगिता सरे छनोट भइसकेका खेलाडीको कसरी व्यवस्थापन गर्ने त्यो अहिले चुनौती हुने देखिएको छ । छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्नुपर्ने राखेपको बाध्यता भएका कारण यदि आठौँ सरे खेलाडीहरूको हरिविजोग हुने र आर्थिक भार पर्ने पक्का भएको छ ।